काठमाडौं। देशका तीन जिल्लामा भएका छुट्टाछुट्टै आगलागीका घटनाले लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। महोत्तरी, काभ्रे र सप्तरीमा भएको आगलागीबाट मुख्य रूपमा गोठ जलेका छन् भने कुल क्षति करिब सात लाख ४० हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।
महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित दक्षिणबारी टोलमा दिनेश यादवको गोठमा मंगलबार बिहान आगलागी भएको थियो। आगोले गोठ पूर्ण रूपमा नष्ट हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
यस्तै, काभ्रेको बनेपा नगरपालिका–१, दुलाल गाउँमा लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भएर मंगलबार राति आगलागी भएको प्रहरीले जनाएको छ। उक्त घटनामा गोठ पूर्ण रूपमा जलेर करिब दुई लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
उता, सप्तरीको कञ्चनरूप नगरपालिका–६, क्वाटर मलेठमा नवराज बस्नेतको गोठमा मंगलबार राति लागेको आगोले गोठ पूर्ण रूपमा ध्वस्त बनाएको छ। यस घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।




