२०८३ श्रावण ११

शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे मन्त्रालयले सरोकारवालासँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती तथा नीतिगत सुधारका विषयमा बुधबार सरोकारवालासँग छलफल गर्ने भएको छ।

सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विषयमा एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरूले असन्तुष्टि जनाउँदै विरोध गर्दै आएका छन्। सोही विषयमा देखिएका समस्या र सुधारका सम्भावनाबारे छलफल गर्न मन्त्रालयले सरोकारवालालाई बोलाएको हो।

छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका), एक्यान, नेवा र नेक्सालगायतका संघ–संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।