काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच भएको वार्ता सहमति नजिक पुगेको छ । दुवै पक्षबीच राखिएका अधिकांश मागमा समझदारी बने पनि केही विषयमा अन्तिम सहमति जुट्न बाँकी रहेको बताइएको छ ।
आइतबार सरकारी वार्ता टोली र डा. केसी पक्षका प्रतिनिधिबीच करिब ११ घण्टा लामो छलफल भएको थियो । सेती प्रादेशिक अस्पतालमा भएको वार्तामा दुवै पक्षले चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा विस्तृत छलफल गरेका थिए ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल सहभागी थिए । डा. केसी पक्षबाट डा. अमृत जैसी र डा. पवन थापाले प्रतिनिधित्व गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य पुकार बम पनि छलफलमा सहभागी भएका थिए ।
वार्तामा सहभागी प्रतिनिधिहरूका अनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शीघ्र सञ्चालन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् । विश्वविद्यालयअन्तर्गत तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्ने, आवश्यक जनशक्तिका लागि दरबन्दी प्रक्रिया अघि बढाउने र चिकित्सा शिक्षा अध्ययन यसै शैक्षिक सत्रदेखि सुरु गर्ने विषयमा समझदारी बनेको बताइएको छ ।
डा. केसी पक्षका वार्ता प्रतिनिधि डा. अमृत जैसीले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाउने सहमति भएको जानकारी दिए । उनका अनुसार डा. केसीले उठाएका अधिकांश मागमा सहमति जुटिसकेको छ भने दुई विषय अझै टुंगिन बाँकी छन् ।
वार्तामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका केही पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजको सिट निर्धारणसम्बन्धी विषयमा सहमति हुन बाँकी रहेको बताइएको छ ।
स्रोतका अनुसार विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दको विषयमा सरकार पक्ष पनि पुनर्विचार गर्ने अवस्थामा पुगेको छ । त्यस्तै, उपकुलपति डा. सुनिलप्रसाद जोशीलाई केही समय कायम राखेर ऐन संशोधनपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।
तर डा. केसीले भने विवादित नियुक्ति खारेज गर्दै विश्वविद्यालय सञ्चालन प्रक्रिया अवरुद्ध नहुने गरी आवश्यक निर्णय लिनुपर्ने अडान राख्दै आएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती, मापदण्ड पूरा नगरेका निजी मेडिकल कलेजको सिट वृद्धि, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन, विगतका सहमति कार्यान्वयन तथा स्वास्थ्य पूर्वाधार विस्तारलगायतका माग अघि सारेका छन् ।
सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि बाह्य निर्भरताबाट मुक्त गर्न आवश्यक पूर्वाधार विकास गर्नुपर्ने तथा विभिन्न घटनामा संलग्न दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि डा. केसीले राखेका छन् ।
सुशासन र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । हाल उनको उपचार त्यहीँ भइरहेको छ ।
सरकार र डा. केसी पक्षबीच सोमबार बिहान १० बजेदेखि निर्णायक वार्ता हुने बताइएको छ ।




