२०८३ श्रावण १३

सुनसरी घटनाबारे प्रधानमन्त्री शाहको प्रतिक्रिया: न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाहीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले प्रभावित परिवारको पीडा सरकारले नजिकबाट महसुस गरेको उल्लेख गर्दै न्याय सुनिश्चित गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र अन्य घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। अनुसन्धानबाट दोषी ठहरिने जोसुकैमाथि पनि कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे। साथै, सरकारले घटनाको समग्र समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधार तथा नीतिगत निर्णय गरिने पनि बताएका छन्।

प्रधानमन्त्री शाहले नागरिकलाई संयम अपनाउन आग्रह गर्दै उत्तेजना, आक्रोश र प्रतिशोधको भावनाबाट टाढा रहन आह्वान गरेका छन्। सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

उनले भनेका छन्, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर र आक्रोशलाई हटाउनुहोस्। उत्तेजित हुने वा गराउने कुनै पनि गतिविधिमा संलग्न नहुनुहोस्। सुरक्षित र संयमित भएर बसौँ, एकअर्काप्रति प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राखौँ।”

मानव जीवनको संरक्षण सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनु तथा दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको बताएका छन्।

उनले सरकारले यी सबै दायित्व यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै नागरिकको सुरक्षा, न्याय र कानुनी शासनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।