२०८३ श्रावण २०

ब्रोड पिक हिमपहिरो पीडित गाइड परिवारका लागि निम्सदाइ फाउन्डेसनद्वारा राहत कोष स्थापना

काठमाडौं । निम्सदाइ फाउन्डेसनले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका पर्वतीय गाइडहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले विशेष राहत कोष स्थापना गरेको घोषणा गरेको छ।

फाउन्डेसनले आफ्ना संस्थापक तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लाई गुमाउनुपरेको दुःखद अवस्थाबीच पनि दुर्घटनामा ज्यान गुमाएका अन्य गाइडका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्यसहित ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ स्थापना गरिएको जनाएको छ।

फाउन्डेसनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत हिमाल आरोहणमा संलग्न प्रत्येक गाइड र टोली सदस्यको पछाडि उनीहरूमाथि निर्भर परिवार रहने उल्लेख गरेको छ। ती परिवारहरूले अहिले गहिरो पीडा र कठिन परिस्थितिको सामना गरिरहेको भन्दै सहयोग आवश्यक रहेको जनाएको छ।

ठूला पर्वतारोहण दुर्घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने आफ्नो परोपकारी उद्देश्यअनुसार फाउन्डेसनले विश्वभरका पर्वतारोहण प्रेमी, सहयोगी तथा अन्तर्राष्ट्रिय समुदायलाई राहत कोषमा सहयोग गर्न अपिल गरेको छ।

फाउन्डेसनले निर्मल पुर्जाको मानवीय सोचलाई स्मरण गर्दै पर्वतारोहणको वास्तविक सफलता केवल हिमालको चुचुरोमा पुग्नुमा नभई यात्राका क्रममा मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुमा रहेको विश्वास रहेको उल्लेख गरेको छ।

निम्स दाइको यही आदर्श, मार्गदर्शन र मानवीय दृष्टिकोणलाई निरन्तरता दिन फाउन्डेसनले दया, करुणा र व्यवहारिक सहयोगमार्फत उनको विरासतलाई अघि बढाउन सबैसँग आग्रह गरेको छ।