काठमाडौं । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ करिब ६:३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा एउटा पिकअप गाडी रोकेर खानतलासी गरेको थियो।
प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको उक्त पिकअपमा सिमेन्टको बोराभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले २०७ केजी गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार गाँजासहित पिकअप चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामालाई पक्राउ गरिएको छ।
बरामद गरिएको गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



