काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।
प्रदेशसभा बैठकमा लामो समयदेखि अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा समेत छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ।
सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) ले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ।
मुख्यमन्त्री शाहले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए।
सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ जना सदस्य छन्। तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसका १८, नेपाली कम्युनिष्ट पार्टीका सभामुखसहित २२, नेकपा (एमाले) का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभा सचिवालयका अनुसार हाल एक जना प्रदेशसभा सदस्य देशबाहिर छन् भने अर्का एक जना निलम्बनमा रहेका छन्।




