२०८३ श्रावण २९

नेपाली सेनामा २८० अधिकृत क्याडेट माग, आवेदन खुला

काठमाडौं। नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदमा २८० जना नयाँ जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले आज सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो।

सेनाले खुलातर्फ १४६ जना, महिलातर्फ २४ जना, आदिवासी/जनजातितर्फ ३९ जना, मधेसीतर्फ ३३ जना, दलिततर्फ १८ जना, पिछडिएको क्षेत्रतर्फ ६ जना तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ जनाको कोटा निर्धारण गरेको छ।

आवेदन दिने म्याद

सेनाका अनुसार साउन २९ देखि भदौ १८ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सकिनेछ। नियमित अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर भदौ १९ देखि भदौ २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उमेरसम्बन्धी व्यवस्था

प्रमाणपत्र तह अर्थात् कक्षा १२ उत्तीर्ण उम्मेदवारले आवेदनको अन्तिम मिति भदौ २८ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, स्नातक तह उत्तीर्ण उम्मेदवारको उमेर सोही मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ।

बहालवाला सैनिक उम्मेदवारको हकमा भने आवेदनको अन्तिम मितिसम्म २६ वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको नेपाली सेनाले जनाएको छ।