२०८३ श्रावण २९

झापामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डीएपी वितरण

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले झापामा रासायनिक मलको आपूर्ति तथा वितरणलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डीएपी किसानलाई वितरण गरिएको छ।

त्यस्तै, ३७.०५० मेट्रिक टन अर्थात् ७४१ बोरा पोटाससमेत वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले जानकारी दिए।

धान रोपाइँको मुख्य चरण लगभग सकिएसँगै अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको उनले बताए। कार्यालयमा पर्याप्त मौज्दात रहेकाले किसानले मलको अभावबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। हाल कार्यालयमा १३० मेट्रिक टन युरिया र ५४ मेट्रिक टन डीएपी मौज्दात रहेको छ।

धान रोपाइँपछि बालीको वृद्धि तथा उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणअन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले बताए।

उनका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार बनाएर यस वर्षको आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ। थप मल आउने भएकाले किसानले मलको अभाव व्यहोर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयले झापाका किसानसँगै पहाडी जिल्लामा समेत रासायनिक मल आपूर्ति तथा वितरण गर्दै आएको छ। कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एक स्थानीय तहसम्म मल आपूर्ति हुँदै आएको छ।