२०८३ श्रावण २९

पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आज आयोजित ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि सक्रिय रूपमा अघि बढिरहेको बताए।

पर्यटन क्षेत्रका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँगको साझेदारीमार्फत मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापन सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए।

यसैगरी, उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने सरकारको योजना रहेको बताए।