काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले) ले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत परीक्षणमा जानुअघि नै राजीनामाको घोषणा गरेका हुन्।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्र रहेकाले बहुमत पुग्ने अवस्था नरहेको हो।



