२०८३ कार्तिक ८

बागमतीका मुख्यमन्त्री बानियाँले राजीनामा दिने घोषणा

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले) ले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत परीक्षणमा जानुअघि नै राजीनामाको घोषणा गरेका हुन्।

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्र रहेकाले बहुमत पुग्ने अवस्था नरहेको हो।

Read More

करार कर्मचारीको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले हाल कार्यरतमध्ये फाजिलमा पर्न सक्ने करार कर्मचारीको विवरण प्राथमिकताका साथ तत्काल पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रका आधारमा विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै सम्बन्धित निकायलाई माग गरिएको विवरण सफ्ट कपीमा तयार गरी मन्त्रालयको आधिकारिक इमेलमार्फत पठाउन भनेको छ।

विवरण पठाउन निश्चित समयसीमा तोकिएको छैन। तर फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण भने यथाशीघ्र उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

Read More

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।

सोमबार श्रममन्त्री र मन्त्रालयका सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन अन्त्य गर्ने सहमति भएको हो।

संघले साउन २२ गतेदेखि १५ बुँदे माग अघि सार्दै ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साथै, भदौ १ गतेदेखि गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउने प्रक्रिया रोक्ने घोषणा गरेको थियो।

छलफलमा व्यवसायीका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेटिँदै गरेको मन्त्रालयले जानकारी गराएको थियो। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन संशोधन प्रक्रिया शीघ्र टुंग्याउने सहमति भएको छ।

त्यस्तै, व्यवसायीले कानुनअनुसार आवश्यक प्रमाण तथा कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ।

सहमतिको आधारमा संघले भदौ १ गतेदेखि नै आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Read More

नेपाली र भारतीय सेनाका प्रमुखबीच भेटवार्ता

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–भारतबीचको पारस्परिक सम्बन्ध तथा दुवै पक्षको आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा आइतबार काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए। त्यसपछि उनले सैनिक मुख्यालयमा आयोजित गार्ड अफ अनर ग्रहण गरेका थिए।

सेठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्राप्त गर्ने कार्यक्रमसमेत रहेको छ।

Read More

विमानस्थलबाट बढी विदेशी मुद्रा बोकेको आरोपमा निगमका दुई कर्मचारी पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं–२६ की ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरू मलेसिया जान लागेका बेला विमानस्थलमा जाँचका क्रममा विदेशी मुद्रा भेटिएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ। त्यस्तै, पाण्डेको साथबाट १२ हजार ३२८ रिंगेट र ४ हजार २०० अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार यात्रुले ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा लैजान नपाउने व्यवस्था रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन सभामुखको रुलिङ

काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले उठाएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिएका हुन्।

सभामुखले प्रतिनिधिसभा नियमावलीका सम्बन्धित व्यवस्थाअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए।

सभामुखको रुलिङपछि प्रतिपक्षी सांसदहरू आ–आफ्नो आसनमा फर्किएका थिए।

Read More

काभ्रेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काठमाडौं। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा स्थानीय कलबहादुर माझी र खानीखोला–२ की पातलीमाया मोक्तान रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घटनापछि उद्धारका लागि प्रहरी टोली र एम्बुलेन्स परिचालन गरिएको छ। दुर्घटनाको थप विवरण तथा घाइतेहरूको अवस्थाबारे जानकारी आउन बाँकी छ।

Read More

प्रि–ओपन सेसनमा नेप्से १.९९ अंकले घट्यो

काठमाडौं । सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.९९ अंकले घटेर २,६४१.८३ विन्दुमा झरेको छ।

यस अवधिमा ७६ वटा स्क्रिप्सको २७ हजार ४४२ कित्ता सेयर कारोबार हुँदा कुल १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका स्टकमध्ये २० वटाको मूल्य बढेको छ भने ४३ वटाको मूल्य घटेको छ। बाँकी ९ वटा स्टकको मूल्यमा भने कुनै परिवर्तन भएन।

Read More

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, खानतलासीको क्रममा तनाव

काठमाडौं । जिल्ला कारागार मोरङमा सोमबार बिहान कैदीबन्दीले प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा बसेर विरोधमा उत्रिएका हुन्।

विराटनगर महानगरपालिका–८ स्थित कारागारमा बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी थालेको थियो। त्यसक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार पुगेको थियो।

प्रशासनले खानतलासीसँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ। तर, प्रहरी टोलीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्।

कैदीबन्दीले प्रशासनले आफूहरूमाथि पटक–पटक अनावश्यक दुःख दिएको आरोप लगाउँदै विरोध जनाएको बताइएको छ।

Read More

सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं।वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार आज उनको पक्राउ तथा हिरासतको कानुनी आधारबारे अदालतमा सुनुवाइ हुनेछ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरेकी थिइन्।

रिटमार्फत श्रेष्ठलाई अदालतमा उपस्थित गराई थुनामुक्त गर्न माग गरिएको छ। आजको सुनुवाइपछि अदालतले उनको हिरासतलाई निरन्तरता दिने वा थुनामुक्त गर्ने विषयमा आदेश दिन सक्नेछ।

Read More