२०८३ भाद्र १

प्रि–ओपन सेसनमा नेप्से १.९९ अंकले घट्यो

काठमाडौं । सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.९९ अंकले घटेर २,६४१.८३ विन्दुमा झरेको छ।

यस अवधिमा ७६ वटा स्क्रिप्सको २७ हजार ४४२ कित्ता सेयर कारोबार हुँदा कुल १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका स्टकमध्ये २० वटाको मूल्य बढेको छ भने ४३ वटाको मूल्य घटेको छ। बाँकी ९ वटा स्टकको मूल्यमा भने कुनै परिवर्तन भएन।

Read More

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, खानतलासीको क्रममा तनाव

काठमाडौं । जिल्ला कारागार मोरङमा सोमबार बिहान कैदीबन्दीले प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा बसेर विरोधमा उत्रिएका हुन्।

विराटनगर महानगरपालिका–८ स्थित कारागारमा बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी थालेको थियो। त्यसक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार पुगेको थियो।

प्रशासनले खानतलासीसँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ। तर, प्रहरी टोलीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्।

कैदीबन्दीले प्रशासनले आफूहरूमाथि पटक–पटक अनावश्यक दुःख दिएको आरोप लगाउँदै विरोध जनाएको बताइएको छ।

Read More

सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं।वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार आज उनको पक्राउ तथा हिरासतको कानुनी आधारबारे अदालतमा सुनुवाइ हुनेछ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरेकी थिइन्।

रिटमार्फत श्रेष्ठलाई अदालतमा उपस्थित गराई थुनामुक्त गर्न माग गरिएको छ। आजको सुनुवाइपछि अदालतले उनको हिरासतलाई निरन्तरता दिने वा थुनामुक्त गर्ने विषयमा आदेश दिन सक्नेछ।

Read More

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात महिलाको मृत्यु

काठमाडौं। भारतको बिहारस्थित लखीसरायको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भएको भागदौडमा सात जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको स्थानीय प्रशासनले जनाएको छ।

भाद्र महिनाको पहिलो सोमबार भगवान् शिवको जलाभिषेकका लागि ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका बेला घटना भएको हो। अशोकधाम हाल्ट रेलवे स्टेसनबाट मन्दिरतर्फ जाने बाटोमा लामो लाइन रहेको समयमा एकैपटक दुईवटा रेल स्टेसनमा आएपछि भीड बढेको थियो।

त्यसै क्रममा विद्युत्को तार चुँडिएर पोल ढलेको र करेन्ट प्रवाह भएको हल्ला फैलिएपछि दर्शनार्थीबीच भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन्। महिलाको लाइनमा अचानक चाप बढ्दा धेरै जना एकअर्कामाथि खस्दा थिचिएर निसास्सिएको बताइएको छ।

घटनामा घाइते भएकाहरूलाई लखीसराय जिल्ला सदर अस्पतालमा उपचारका लागि लगिएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पताल पठाइएको छ। घाइतेको संख्याबारे भने प्रशासन र स्थानीय सञ्चारमाध्यमबाट फरक विवरण सार्वजनिक भएका छन्।

घटनापछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क तथा उचित उपचारको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। घटनास्थलमा उद्धार, भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनका लागि प्रशासनिक टोली परिचालन गरिएको छ।

Read More

चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण अनिवार्य

काठमाडौं । चितवनमा विद्यार्थी बोक्ने विद्यालयका सवारीसाधनलाई सुरक्षित र व्यवस्थित बनाउन गति नियन्त्रण उपकरण जडान अनिवार्य गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको समन्वय बैठकले विद्यालयका सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार विद्यालयका सबै सवारीसाधनमा १५ दिनभित्र उपयुक्त गति नियन्त्रण प्रविधि जडान गर्नुपर्नेछ। यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछन्। तोकिएको समयभित्र उपकरण जडान नगर्ने सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रशासनले जनाएको छ।

बैठकले विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकको नियमित अनुशिक्षण र मादक पदार्थ सेवन नियन्त्रणलाई पनि प्राथमिकता दिएको छ। विद्यालयले चालकलाई जिम्मेवारी दिनुअघि दैनिक मापसे परीक्षण गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यालय सवारीसाधनको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि गरिएको बैठकमा जिल्ला सुरक्षा निकाय, शिक्षा कार्यालय, स्थानीय तहका शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि र प्राविधिक क्षेत्रका सरोकारवालाको सहभागिता थियो।

Read More

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

सोमबार बिहान सापकोटा सवार स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बौनियाका अनुसार दुर्घटनापछि ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिइएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवारसमेत बनेकी थिइन्।

Read More

चार घण्टापछि खुल्यो पृथ्वीराजमार्ग, दुईतर्फी यातायात सञ्चालन

काठमाडौं। धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सोमबार बिहान पौने ६ बजे पहिरो खसेपछि काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फको यातायात रोकिएको थियो। सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधनको लामो जाम लागेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो हटाएको थियो।

पहिरो पन्छाएपछि राजमार्गमा दुवैतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक खुलेसँगै रोकिएका सवारीसाधन क्रमशः आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

Read More

बडीमालिका मन्दिरमा आजदेखि पूजा तथा मेला सुरु

काठमाडौं। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा आजदेखि पूजा तथा मेला सुरु भएको छ।

दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न मुख्य पूजा हुनुभन्दा अगावै पूजा सुरु गरिएको मन्दिरका पुजारीले बताएका छन्। यस वर्ष मुख्य पूजा भदौ ११ गते हुने तय भएको छ। गत वर्ष ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए।

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। धार्मिक क्षेत्रको मर्यादा कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तुमा रोक लगाउने निर्णय गरिएको छ। आपत्कालीन अवस्थामा उद्धार तथा स्वास्थ्य सेवाको व्यवस्था पनि मिलाइएको छ।

दर्शनार्थीको सुविधा बढाउन बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तारको तयारी भइरहेको छ। भौगोलिक विकटताका कारण उपकरण ढुवानीमा कठिनाइ भए पनि मेला सुरु हुनुअघि सञ्चार सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटक तथा तीर्थयात्रीको प्रमुख गन्तव्य बन्दै गएको छ।

Read More

अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई ३० हजार डलर इनाम दिने इरानको घोषणा

काठमाडौं। इरानले अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गरी बुझाउने व्यक्तिलाई ३० हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा गरेको छ। इरानी सेनाका अनुसार यस्तो कार्य गर्ने महिला भएमा इनाम रकम दोब्बर हुनेछ।

इरानी समाचार संस्था इर्नाका अनुसार सेना प्रमुख अमिर हातमीले ठूलो संख्यामा मानिसबाट आर्थिक सहयोगसम्बन्धी योजनामा सहभागी हुन इच्छा व्यक्त भएपछि उक्त योजना अघि सारिएको बताएका छन्।

हातमीले अमेरिकी सैनिकलाई कहाँ वा कुन अवस्थामा लक्षित गर्ने भन्नेबारे भने कुनै विवरण दिएका छैनन्। उनका अनुसार अमेरिकी सैन्य personnel लाई मार्ने वा पक्राउ गरी इरानी सेनालाई बुझाउने व्यक्तिले ३० हजार डलर वा करिब पाँच अर्ब तोमान बराबरको पुरस्कार पाउनेछ। यस्तो कार्य गर्ने इरानी महिलालाई दोब्बर पुरस्कार दिने उनले बताएका छन्।

इरानमा अमेरिकी स्थल सेना तैनाथ रहेको कुनै आधिकारिक जानकारी नरहेको बताइएको छ। यद्यपि, अप्रिलमा खसेका एक अमेरिकी पाइलटको उद्धारका लागि छोटो अवधिको अमेरिकी सैन्य अभियान सञ्चालन भएको उल्लेख गरिएको छ।

इरान र अमेरिकाबीचको तनाव पछिल्लो समय सैन्य द्वन्द्वमा परिणत भएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि करिब ४० दिनसम्म युद्ध चलेको थियो। त्यसपछि अप्रिलमा युद्धविराम भएको थियो भने जुनमा शान्ति वार्ताको प्रारम्भिक ढाँचा बने पनि त्यसले स्थायी समाधानको रूप लिन सकेन।

त्यसयता दुवै पक्षबीच बेलाबेलामा आक्रमण हुँदै आएको बताइएको छ। पछिल्लो द्वन्द्व मुख्यतः दक्षिणी इरान र हर्मुज जलमार्ग आसपास केन्द्रित रहेको उल्लेख गरिएको छ।

Read More

सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं। धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुवैतर्फबाट अवरुद्ध भएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट खसेको पहिरोले राजमार्ग ढाकिएपछि दुवैतर्फको सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

सडक खुलाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको नेतृत्वमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने काम गरिरहेको छ।

राजमार्ग अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन्। सडक खुलाउने काम जारी रहेकाले प्रहरीले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Read More