काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं–२६ की ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरू मलेसिया जान लागेका बेला विमानस्थलमा जाँचका क्रममा विदेशी मुद्रा भेटिएको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ। त्यस्तै, पाण्डेको साथबाट १२ हजार ३२८ रिंगेट र ४ हजार २०० अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार यात्रुले ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा लैजान नपाउने व्यवस्था रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


