काठमाडौं।वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ।
यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार आज उनको पक्राउ तथा हिरासतको कानुनी आधारबारे अदालतमा सुनुवाइ हुनेछ।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरेकी थिइन्।
रिटमार्फत श्रेष्ठलाई अदालतमा उपस्थित गराई थुनामुक्त गर्न माग गरिएको छ। आजको सुनुवाइपछि अदालतले उनको हिरासतलाई निरन्तरता दिने वा थुनामुक्त गर्ने विषयमा आदेश दिन सक्नेछ।




