२०८३ भाद्र १

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

सोमबार बिहान सापकोटा सवार स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बौनियाका अनुसार दुर्घटनापछि ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिइएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवारसमेत बनेकी थिइन्।