२०८३ भाद्र १

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात महिलाको मृत्यु

काठमाडौं। भारतको बिहारस्थित लखीसरायको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भएको भागदौडमा सात जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको स्थानीय प्रशासनले जनाएको छ।

भाद्र महिनाको पहिलो सोमबार भगवान् शिवको जलाभिषेकका लागि ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका बेला घटना भएको हो। अशोकधाम हाल्ट रेलवे स्टेसनबाट मन्दिरतर्फ जाने बाटोमा लामो लाइन रहेको समयमा एकैपटक दुईवटा रेल स्टेसनमा आएपछि भीड बढेको थियो।

त्यसै क्रममा विद्युत्को तार चुँडिएर पोल ढलेको र करेन्ट प्रवाह भएको हल्ला फैलिएपछि दर्शनार्थीबीच भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन्। महिलाको लाइनमा अचानक चाप बढ्दा धेरै जना एकअर्कामाथि खस्दा थिचिएर निसास्सिएको बताइएको छ।

घटनामा घाइते भएकाहरूलाई लखीसराय जिल्ला सदर अस्पतालमा उपचारका लागि लगिएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पताल पठाइएको छ। घाइतेको संख्याबारे भने प्रशासन र स्थानीय सञ्चारमाध्यमबाट फरक विवरण सार्वजनिक भएका छन्।

घटनापछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क तथा उचित उपचारको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। घटनास्थलमा उद्धार, भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनका लागि प्रशासनिक टोली परिचालन गरिएको छ।