काठमाडौं। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा आजदेखि पूजा तथा मेला सुरु भएको छ।
दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न मुख्य पूजा हुनुभन्दा अगावै पूजा सुरु गरिएको मन्दिरका पुजारीले बताएका छन्। यस वर्ष मुख्य पूजा भदौ ११ गते हुने तय भएको छ। गत वर्ष ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए।
मेलालाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। धार्मिक क्षेत्रको मर्यादा कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तुमा रोक लगाउने निर्णय गरिएको छ। आपत्कालीन अवस्थामा उद्धार तथा स्वास्थ्य सेवाको व्यवस्था पनि मिलाइएको छ।
दर्शनार्थीको सुविधा बढाउन बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तारको तयारी भइरहेको छ। भौगोलिक विकटताका कारण उपकरण ढुवानीमा कठिनाइ भए पनि मेला सुरु हुनुअघि सञ्चार सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटक तथा तीर्थयात्रीको प्रमुख गन्तव्य बन्दै गएको छ।



