काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।
सोमबार श्रममन्त्री र मन्त्रालयका सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन अन्त्य गर्ने सहमति भएको हो।
संघले साउन २२ गतेदेखि १५ बुँदे माग अघि सार्दै ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साथै, भदौ १ गतेदेखि गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउने प्रक्रिया रोक्ने घोषणा गरेको थियो।
छलफलमा व्यवसायीका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेटिँदै गरेको मन्त्रालयले जानकारी गराएको थियो। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन संशोधन प्रक्रिया शीघ्र टुंग्याउने सहमति भएको छ।
त्यस्तै, व्यवसायीले कानुनअनुसार आवश्यक प्रमाण तथा कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ।
सहमतिको आधारमा संघले भदौ १ गतेदेखि नै आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




