२०८३ भदौ १ गते (१७ अगस्ट २०२६) सोमबार, श्रावण शुक्लपक्ष पञ्चमी तिथि। हस्त नक्षत्र, बिहान ६ः५२ बजेसम्म हस्त र त्यसपछि चित्रा नक्षत्र रहनेछ। चन्द्रमा कन्या राशिमा रहेर साँझ ७ः१७ बजेपछि तुला राशिमा प्रवेश गर्नेछन्। आजको दिन समग्रमा मिहिनेत, संयम र विवेकपूर्ण निर्णयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। बिहानको समयमा कामको चाप, प्रतिस्पर्धा र केही अन्योल देखिए पनि दिन ढल्दै जाँदा परिस्थितिमा सुधार आउनेछ। व्यापार–व्यवसाय, अध्ययन, आर्थिक गतिविधि तथा नयाँ योजनाका लागि विभिन्न अवसर प्राप्त हुनेछन्। पारिवारिक तथा सामाजिक सम्बन्धमा समझदारी कायम राख्न सके सकारात्मक परिणाम हात पर्नेछ। भने हतारमा निर्णय गर्ने, गोपनीय कुरा बाहिर ल्याउने वा अरूको आश्वासनमा मात्र भर पर्ने प्रवृत्तिबाट भने सावधान रहनु उचित हुनेछ।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूको राम्रो साथ मिल्ने भएकाले चिताएका काम सम्पादन हुनेछन्। साँझदेखि कामको चापबाट फुर्सद मिल्नेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन अझ कसिलो बन्नेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको सदुपयोगले लक्ष्य प्राप्त हुनेछ र बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। नयाँ कामतर्फ अग्रसर हुने अवसर मिल्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। साँझतिर गोपनीय कुरा बाहिरिनाले समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुहोला।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिका दिनमा समस्या निम्तिन सक्छ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझतिर बौद्धिक तथा कलात्मक प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ भने आम्दानीका स्रोतसमेत बढ्नेछन्।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। पहिलेका समस्या सुल्झाउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
देखेको विषयमा तत्काल बोल्ने बानीले व्यर्थमा दुःख पाइनेछ। अरूका आक्षेप सहनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। प्रयत्न गर्दा केही अवसर प्राप्त भए पनि अरूको आश्वासनमा मात्र भर पर्दा काममा बाधा आउन सक्छ। आश्वासन दिनेहरूले समेत आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ र विभिन्न अवसरसमेत प्राप्त हुनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान तथा भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। साँझतिर स्थितिमा सुधार आउनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा फसेको रकम उठ्न सक्छ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ। साँझदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर नाम, दाम र प्रतिष्ठा हात पार्न सकिनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। साँझदेखि बसाइँको स्थानान्तरण वा यात्रा हुने सम्भावना छ। खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। अवसरले जीवनशैलीमा समेत परिवर्तन ल्याउनेछ। आँट गरेर अघि बढ्दा काम बन्नेछ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ हुन सक्छ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। साँझतिर कामको चापले जीवनशैली व्यस्त रहनेछ। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामहरू बिस्तारै सम्पादन हुनेछन्। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली–व्यवहारमा संयम राख्दै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझदेखि काममा बाधा र स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ।
Read More