काठमाडौं। आजदेखि खाना पकाउने एलपी ग्यास सम्बन्धित डिलर तथा बिक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले सूचना जारी गर्दै ग्यास उद्योगलाई आफ्ना आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाबाट बिक्री गर्न निर्देशन दिएको हो।
ग्यास आवश्यक भएका उपभोक्ताले आफूलाई सहज पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी सिलिण्डर खरिद गर्न सक्नेछन्। वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले ग्यास उद्योग तथा बिक्रेताका लागि विभिन्न व्यवस्था लागू गरेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिण्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई बुझाउनुपर्नेछ।
त्यसैगरी, बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले घरायसी प्रयोजनका लागि ग्यास अत्यावश्यक भएका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री गर्नसमेत निर्देशन दिएको छ। ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयमार्फत अनुरोध गरिएको छ।
ग्यास वितरणको अवस्था अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा निगमका कर्मचारीसहितको संयुक्त टोली परिचालन गर्ने व्यवस्था पनि गरिएको निगमले जनाएको छ।
नजिकको बिक्रेताबाट ग्यास उपलब्ध हुन नसकेमा र तत्काल ग्यास आवश्यक परेमा उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा फोन गर्न निगमले आग्रह गरेको छ।




