२०८३ भाद्र १

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाइनेछ।

बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले प्रदेश सभामा पढेर सुनाउने कार्यसूची छ। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास रहेको प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत परीक्षण गर्न लागेका हुन्।

लुम्बिनी प्रदेश सभामा ८३ सदस्य छन्। सरकार कायम राख्न कम्तीमा ४२ प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री आचार्यले आवश्यक बहुमतभन्दा बढी सदस्यको समर्थन प्राप्त गर्ने दाबी गरिएको छ।