काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकमा २०८२ फागुन २५ गतेदेखि दुई डेपुटी गभर्नर पद रिक्त थिए। सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरिसकेको थियो। रिक्त रहेको अर्को एक पदमा रावललाई नियुक्त गरिएको हो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रावललाई डेपुटी गभर्नर नियुक्त गरिएको हो।
रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत छन्। उनले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।




