२०८३ भाद्र ८

रुसको मिसाइल आक्रमणमा किभमा पाँच जनाको मृत्यु, २३ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभ तथा आसपासका क्षेत्रमा रातभर गरेको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। आक्रमणबाट आवासीय भवन, गोदाम तथा अन्य संरचनामा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार बिहीबार रातिको आक्रमणपछि उद्धार टोलीले क्षतिग्रस्त संरचनाका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन्। उद्धारकर्ताले हालसम्म एक जनालाई भग्नावशेषबाट जीवितै निकाल्न सफल भएका छन्।

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणबाट एउटा बाल अस्पतालमा समेत क्षति पुगेको छ। अस्पतालका झ्यालका सिसा फुटेका छन् भने परिसरमा पार्क गरिएका केही गाडीमा आगलागी भएको छ। दक्षिणपश्चिमी किभको सोलोम्यान्स्की जिल्लास्थित औद्योगिक क्षेत्रमा समेत मिसाइल प्रहार भएको उनले जानकारी दिएका छन्।

किभ क्षेत्रको ब्रोभरी जिल्लामा भएको छुट्टै आक्रमणमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर टिमुर तकाचेन्कोले पुष्टि गरेका छन्।

सम्भावित थप आक्रमणको जोखिमलाई ध्यानमा राख्दै क्षेत्रीय प्रशासनले राति नै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। पछिल्ला दिनमा युक्रेनमाथि रुसका आक्रमण तीव्र भइरहेका बेला छिमेकी पोल्यान्डले समेत आफ्नो सुरक्षालाई ध्यानमा राख्दै सावधानीस्वरूप सैन्य विमान परिचालन गर्ने जनाएको छ।