२०८३ भाद्र ८

हत्या, हिंसा र बलात्कारलाई सामाजिक अराजकतासँग जोडेर हेर्नुपर्छ : पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजमा बढ्दै गएका हत्या, हिंसा तथा बलात्कारका घटनालाई केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। उनले यस्ता घटनालाई सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गते भएको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानसँग जोडेर हेर्नुपर्ने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले पछिल्लो समय देशमा अपराधका घटना बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना भइरहेको बताएका छन्। उनका अनुसार समाजमा देखिएको अस्थिरता र अराजकताले नागरिकको मानसिक अवस्थामा समेत नकारात्मक प्रभाव पारेको छ।

पोखरेलले देशको पछिल्लो अवस्थाका कारण समाजमा आत्महत्याको शृङ्खला समेत बढेको दाबी गरेका छन्। अपराधका घटना निरन्तर बढ्दै जाँदा नागरिकले आफू र आफ्नो सुरक्षाप्रति थप चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार उक्त घटनामा संलग्न दोषीलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू निरन्तर भय तथा असुरक्षाको अवस्थामा बाँच्नुपर्ने परिस्थिति कायम रहनेछ।