२०८३ भाद्र ८

परराष्ट्रमन्त्री खनाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन सर्बिया जान लागेका हुन्। स्मरणसभा भदौ १५ र १६ गते बेलग्रेडमा आयोजना हुँदैछ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। यसको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।

कार्यक्रममा विश्वका विभिन्न देशका नेता, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ।

नेपालले आफ्नो परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। संविधानले समेत असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।

नेपालले असंलग्न आन्दोलनका वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठकलगायत विभिन्न बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ।

मन्त्री खनाल भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।