२०८३ भाद्र २९

चितवनमा बाढीपछि भेटिएका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भइसकेको छ भने सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ।

शव व्यवस्थापनका क्रममा सबै शवको डिएनए नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक पौडेलले बताए। उनका अनुसार भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग गरिएको डिएनए परीक्षण मिलेको अवस्थामा व्यवस्थापन गरिएको स्थानबाट शव पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न सकिने गरी आवश्यक सङ्केत चिह्नसमेत राखिएको छ।

सनाखत भएका शवको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि परिवारजनले बुझेर लगेका छन्। सनाखत हुन नसकेका शवको भने डिएनए नमूना सुरक्षित राख्दै देवघाट जङ्गल क्षेत्रमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका तथा ८७ वटा अन्य अर्थात् मानव अवशेष रहेका छन्।

नदी किनार तथा आसपासका क्षेत्रमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले खोजी तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी, उद्धार तथा शव व्यवस्थापनमा परिचालन गरिएको प्रहरीले जनाएको छ।