काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानीमा आपूर्ति हुने एलपी ग्यासको व्यवस्थापन प्रभावित भएको छ । ग्यास बोकेका बुलेट कृष्णभीरको सडक हुँदै आवतजावत गर्न नसक्ने भएपछि उपत्यका र आसपासका जिल्लामा रहेका ग्यास उद्योगहरूले राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ । सोहीअनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा रहेका उद्योगसँग समन्वय गरेर ग्यास भर्न थालेका छन् ।
चन्दका अनुसार उपत्यका र आसपासका जिल्लामा मात्रै मुलुकको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने गरेको छ । कृष्णभीरको सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित हुन सक्ने अवस्था आएपछि राजधानी बाहिरबाटै ग्यास भरेर वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको हो ।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक सडकबाट काठमाडौं ल्याइने बताए । उनका अनुसार बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगमा भरिएका ग्यासका बुलेट त्रिभुवन राजपथलगायतका वैकल्पिक सडक प्रयोग गरी राजधानी ल्याइनेछ ।
राजधानी बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र आसपासका जिल्लामा तत्काल ग्यास अभाव नहुने कालाखेतीले बताए । उनले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चित नगर्नसमेत आग्रह गरेका छन् ।
कालाखेतीका अनुसार श्री ग्यासले बाबा ग्यास, श्रीकृष्ण ग्यासले साइबाबा ग्यास, श्रीराम ग्यासले जानकी ग्यास तथा नेपाल ग्यासले नेपाल गण्डकी ग्यास उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन् । त्यस्तै, एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगमा ग्यास भर्न थालेका छन् ।
अन्य ग्यास उद्योगहरूले पनि राजधानी बाहिर रहेका उद्योग वा अन्य उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाइरहेका छन् । यसरी वैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्थापन गरिएकाले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म पनि राजधानीमा ग्यास आपूर्ति सहज बनाइराख्ने प्रयास भइरहेको उद्योगीहरूले बताएका छन् ।




