काठमाडौँ । बाढी तथा पहिरोको जोखिम बढेको भन्दै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । यसअघि भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका प्रभावित भएपछि चीनले तातोपानी नाका पनि बन्द गर्ने निर्णय गरेको हो ।
भदौ १० गते आएको भोटेकोसीको बाढीले रसुवागढी नाकाअन्तर्गत टिमुरे बजार, भन्सार तथा अध्यागमन कार्यालयमा ठूलो क्षति पुर्याएको थियो । दुवै प्रमुख उत्तरी नाका बन्द भएपछि नेपाल–चीनबीचको स्थलमार्ग हुँदै हुने व्यापार प्रभावित भएको छ ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार सीमावर्ती लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षले तातोपानी नाकाबाट व्यापारिक गतिविधि सञ्चालन नगर्ने जानकारी गराएको छ ।
तातोपानी नाकाबाट मालवाहक सवारीसाधनको आवतजावत तथा व्यापारिक आयात–निर्यात रोकिए पनि सर्वसाधारण यात्रुको आवतजावत भने जारी रहने महावाणिज्यदूत निरौलाले जानकारी दिएका छन् ।
नेपाल–चीन व्यापारका लागि प्रमुख नाका मानिएका रसुवागढी र तातोपानी एकैपटक बन्द भएपछि चीनसँगको स्थल व्यापारका लागि मुस्ताङस्थित कोरला नाका मात्रै सञ्चालनमा रहने अवस्था बनेको छ ।
मुख्य उत्तरी नाका बन्द हुँदा आगामी चाडपर्वलाई लक्षित गरी चीनबाट नेपाल ल्याउन लागिएका ठूलो परिमाणका व्यापारिक सामग्री सीमापारि नै रोकिएर अलपत्र पर्ने जोखिम बढेको छ । लामो समयसम्म नाका सञ्चालनमा नआएमा आयात–निर्यातसँगै बजारमा सामानको आपूर्तिमा समेत असर पर्न सक्ने व्यवसायीहरूले बताएका छन् ।




