२०८३ भाद्र २८

काठमाडौँमा ग्यास अभाव हुन नदिन राजधानी बाहिरै सिलिन्डर भर्न थालियो

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौँ प्रवेश गर्न नसकेपछि विभिन्न ग्यास उद्योगले राजधानीबाहिरका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर काठमाडौँ पठाउन थालेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ समेत वीरगञ्जस्थित मनोज ग्यासमा भरेर काठमाडौँ पठाउन थालिएको छ ।

चितवनस्थित बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार बाबा ग्यासले १ हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ । श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ । यस्तै, चितवनकै साइबाबा ग्यासले आफ्नै ९०० सिलिन्डर भरेर काठमाडौँ पठाएको छ । नेपाल ग्यास गण्डकीले पनि बालाजुस्थित नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर राजधानी पठाएको छ ।

गैँडाकोटस्थित जानकी ग्यासले नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासले काठमाडौँका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालेका छन् । कालाखेतीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास पनि वीरगञ्जको मनोज ग्यासमा भरेर राजधानी पठाउने व्यवस्था मिलाइएको छ ।

बनेपास्थित सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायत उद्योगले राजधानीबाहिरका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका सञ्चालक कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको आपूर्ति नघटेको बताए । बुलेट काठमाडौँसम्म पुर्‍याउन नसकेका उद्योगहरूले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाइरहेकाले उपत्यकामा ग्यास अभाव हुने अवस्था नरहेको उनको भनाइ छ ।

गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जानकारी दिँदै कालाखेतीले उक्त परिमाण हालसम्मकै बढीमध्ये रहेको बताए । उनका अनुसार अहिले पनि सोही अनुपातमा ग्यास नेपाल भित्रिरहेकाले आपूर्तिमा ठूलो समस्या आउने अवस्था छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए । उनका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर उपत्यकामा पठाउन थालेका छन् ।

चन्दका अनुसार उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने गरेको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि आपूर्ति प्रणालीमा देखिएको अवरोधलाई वैकल्पिक व्यवस्थामार्फत व्यवस्थापन गर्न थालिएको उद्योगीहरूले बताएका छन् ।