२०८३ भाद्र २८

किष्टमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

काठमाडौँ । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणपछि आवश्यक उपचार र चिकित्सकीय निगरानी पूरा भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

बालिकाकी ३३ वर्षीया आमाले आफ्नो कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको चिकित्सकहरूले बताएका छन्।

अस्पतालका अनुसार प्रत्यारोपण शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक, सघन उपचार तथा आवश्यक पूर्व र प्रत्यारोपणपछिको उपचारलाई समन्वय गरेर सेवा दिइएको थियो।

५ वर्षीया बालिकामा गरिएको यो सफल प्रत्यारोपणलाई किष्टले आफ्नो प्रत्यारोपण सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। केन्द्रले बालबालिकासहित जटिल बिरामीका लागि नेपालमै उन्नत प्रत्यारोपण सेवा विस्तार गर्ने जनाएको छ।