काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानीमा एक महिनाका लागि शतप्रतिशत शुल्क छुट दिने भएको छ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा यो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।
राहत सामग्री ढुवानीका लागि सम्बन्धित दूतावाससँग समन्वय गर्नुपर्नेछ। दूतावासको आधिकारिक पत्रका आधारमा अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल पठाइने सामग्रीमा निगमले कुनै ढुवानी शुल्क नलिने जनाएको छ।
विपद्को समयमा विदेशबाट प्राप्त हुने मानवीय सहयोगलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ। शुल्क छुटका कारण विभिन्न देश तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री छिटो र सहज रूपमा प्रभावित समुदायसम्म पुर्याउन सहयोग पुग्ने निगमको अपेक्षा छ।




