२०८३ भाद्र २८

भोटेकोशी बाढीपीडितका लागि इनड्राइभले ७ करोड ५० लाख सहयोग गर्‍यो

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। इनड्राइभ नेपालका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।

सरकारी राहत प्रयासमा आर्थिक सहयोग गर्नुका साथै कम्पनीले बाढी प्रभावित समुदायमा प्रत्यक्ष राहत सामग्रीसमेत वितरण गरेको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–९ का प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको हो।

बाढी प्रभावित परिवारको तत्काल आवश्यकता ध्यानमा राखेर खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्याङ्केट र स्यानिटरी प्याडलगायत सामग्री वितरण गरिएको छ।

विपद्पछि दैनिक जीवन सञ्चालनमा समस्या भोगिरहेका परिवारलाई आधारभूत सामग्री उपलब्ध गराई तत्काल राहत पुर्‍याउनु सहयोगको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

Read More

भोटेकोशी बाढीले चाडपर्वको व्यापारमा धक्का, व्यवसायीको अर्बौंको सामान बग्यो

काठमाडौँ, २५ भदौ । चाडपर्वलाई लक्षित गरेर चीनबाट आयात गरिएका ठूलो परिमाणका सामान भोटेकोशी बाढीमा बगेपछि काठमाडौँका थोक व्यवसायीहरू समस्यामा परेका छन्। रसुवागढी नाकामा भएको क्षतिका कारण दसैँ–तिहारको व्यापार र बजार आपूर्तिमा समेत असर पर्ने व्यवसायीहरूको चिन्ता छ।

भदौ १० गते आएको बाढीले नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले मानवीय क्षतिसँगै नाकामा रोकिएका कन्टेनर, व्यापारिक सामान र ढुवानीका सवारीसाधनमा समेत क्षति पुर्‍याएको हो।

बाढीबाट भएको मानवीय क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनामा मृत्यु तथा बेपत्तासम्बन्धी विवरण यस्तो छ :

विवरणसंख्या
मृत्यु१,३६७
सम्पर्कविहीन५,१३२
नेपाली सेना४५
नेपाल प्रहरी२५
सशस्त्र प्रहरी१२
सरकारी कर्मचारी७३
बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी२६
विदेशी पर्यटक५८९

२५० कन्टेनरका सामान प्रभावित

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार चाडपर्वका लागि केरुङ हुँदै नेपाल ल्याइएका करिब २५० कन्टेनरका सामान बाढीमा परेका छन्। तीमध्ये ७६ कन्टेनर भन्सार प्रक्रिया पूरा भएर काठमाडौँ ल्याउने तयारीमा थिए।

तीज, दसैँ, तिहार र छठलाई लक्षित गरी व्यवसायीहरूले चीनबाट कपडा, ब्याग, विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु आयात गर्ने गर्छन्। तातोपानी नाका प्रभावित भएपछि पछिल्लो समय केरुङ–रसुवागढी नाकामाथि व्यवसायीको निर्भरता थप बढेको थियो।

बाढीबाट भएको क्षतिको अवस्था बुझाउन केही व्यवसायीले आफ्नो व्यक्तिगत नोक्सानीको विवरण दिएका छन्।

व्यवसायीसामान/व्यवसायअनुमानित क्षति
सरोज श्रेष्ठदसैँ–तिहारका सामग्रीरु. ३५ लाख
वीरेन्द्र श्रेष्ठमहिलाका ब्यागरु. ४० लाख
रवि खड्काभित्री पोसाकलगायतरु. ५० लाख
अर्जुन हुमागाईंटोपीरु. ५० लाख
विष्णु न्यौपानेबेल्ट तथा पर्सरु. ८० लाख

यी विवरण केही व्यवसायीको मात्र भएको र क्षतिको वास्तविक रकम अझ ठूलो हुन सक्ने व्यवसायीहरूको भनाइ छ। न्युरोड, ओटु, महाबौद्ध, गुच्चाटोल, फसिकेवलगायत क्षेत्रमा चाडपर्वका लागि ल्याइएका सामान बाढीबाट प्रभावित भएका छन्।

सवारीसाधनमा पनि ठूलो क्षति

बाढीले व्यापारिक सामानसँगै मालवाहक तथा यात्रुवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुर्‍याएको छ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अनुसार करिब २५० मालवाहक सवारीसाधन सामान लिन नाकातर्फ गएका बेला प्रभावित भएका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने करिब ६०० मालवाहक सवारीमा क्षति पुगेको जनाएको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार मालवाहक, यात्रुवाहक तथा गोसाइँकुण्डतर्फ गएका सवारीसमेत जोड्दा प्रभावित सवारीको संख्या करिब १,३०० पुगेको छ।

सवारीसम्बन्धी विवरणअनुमानित संख्या
नाकातर्फ गएका मालवाहककरिब २५०
क्षतिग्रस्त मालवाहककरिब ६००
विभिन्न प्रकारका प्रभावित सवारीकरिब १,३००

भन्सार क्षेत्रमा रहेका रेडिमेड सामान तथा अन्य व्यापारिक सामग्रीसँगै विद्युतीय सवारीसाधनसमेत बाढीको चपेटामा परेको बताइएको छ।

रसुवागढी नाका र सडक पूर्वाधारमा भएको क्षतिले चाडपर्वको आपूर्ति प्रणालीमा असर पार्न सक्ने व्यवसायीहरूको भनाइ छ। समयमै वैकल्पिक ढुवानी व्यवस्था र नाका सञ्चालन सहज बनाउन नसके बजारमा सामानको उपलब्धता तथा मूल्यमा समेत प्रभाव पर्न सक्ने उनीहरूले बताएका छन्।

Read More

४६ शाखा अधिकृतको एकैपटक सरुवा, ३० जना स्थानीय तहमा खटाइए

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेको छ।

बिहीबारको निर्णयअनुसार सरुवा हुनेमध्ये ३० जना विभिन्न स्थानीय तहमा खटिएका छन्। उनीहरूमध्ये केहीलाई दुर्गम क्षेत्रका गाउँपालिकामा समेत जिम्मेवारी दिइएको छ।

बाँकी १६ शाखा अधिकृतलाई भने सिंहदरबारभित्रकै विभिन्न कार्यालय तथा निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो समय कर्मचारीको सरुवा तथा पदस्थापनलाई निरन्तरता दिँदै आएको छ। सोही क्रममा एकैपटक ठूलो संख्यामा शाखा अधिकृतको सरुवा गरिएको हो।

शाखा अधिकृतको सरुवा सूची:

Read More

अस्पतालको गेटमै सुत्केरी भएको घटनामा छानबिन, दोषीलाई कारबाही गर्ने प्रशासनको प्रतिबद्धता

काठमाडौँ । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै एक महिलाले बच्चा जन्माएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।

प्रसूति गराउन अस्पताल पुगेकी महिलालाई समयमै उपचार तथा प्रसूति सेवा उपलब्ध हुन नसक्दा अस्पतालको प्रवेशद्वारमै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको थियो। घटनापछि अस्पताल प्रशासनको सेवा प्रवाहमाथि प्रश्न उठेको छ।

बिहीबार जारी विज्ञप्तिमार्फत अस्पतालले घटनाको वास्तविकता पत्ता लगाउन आन्तरिक छानबिन समिति गठन गर्ने जनाएको छ। छानबिनबाट कर्मचारी वा सम्बन्धित पक्षको लापरबाही पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले स्पष्ट पारेको छ।

अस्पतालले घटना संवेदनशील भएकाले निष्पक्ष रूपमा छानबिन गरी आवश्यक सुधारका कदम चालिने प्रतिबद्धता जनाएको छ।

यस घटनाले बिहीबार प्रतिनिधिसभामा समेत प्रवेश पाएको छ। सांसदहरूले संसद् बैठकमा अस्पतालको सेवा र घटनाबारे प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Read More

भदौभित्र कृष्णभीर सडक खुलाउने लक्ष्य, निर्माण तीव्र

काठमाडौँ । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डलाई भदौभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्र बनाएको छ।

सडक खुलाउन पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण भइरहेको छ। कामका लागि १० वटा मेसिन र ३० जना जनशक्ति परिचालन गरिएको छ भने चौबीसै घण्टा निर्माण सम्भव बनाउन सशस्त्र प्रहरीले निर्माणस्थलमा फ्लडलाइट जडान गरेको छ।

फ्लडलाइटको व्यवस्थापछि दैनिक १२ देखि १४ घण्टासम्म निर्माणको काम भइरहेको जनाइएको छ। नयाँ ट्रयाकसँगै सम्भावित पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो भागमा समेत काम भइरहेको छ।

यसैबीच पृथ्वी राजमार्गका अन्य पहिरो प्रभावित स्थानमा पनि अवरोध हटाउने काम जारी छ। पाँच स्थानमा पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ।

बाढीका कारण कृष्णभीर क्षेत्रको सडक थप कमजोर बनेपछि प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको थियो। सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको अध्ययनपछि नयाँ ट्रयाक निर्माणलाई तत्काल सडक सञ्चालनको विकल्पका रूपमा अघि बढाइएको हो।

सरकारले भदौ मसान्तसम्म कृष्णभीर खण्ड सञ्चालनमा ल्याएर राजमार्गको यातायात सहज बनाउने लक्ष्य लिएको छ।

Read More

रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन बुर्लाकोटीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवामा बाढीका कारण बेपत्ता भएकाहरूको खोजीलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्को क्षतिको तुलनामा जारी खोज तथा उद्धार प्रयास पर्याप्त नभएको बताए। उनले उद्धार कार्यका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा आवश्यक उपकरण तत्काल बढाउनुपर्नेमा जोड दिए।

बुर्लाकोटीले मृतक, बेपत्ता तथा उद्धार गरिएकाहरूको आधिकारिक विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्ने बताए। प्रभावित परिवारले समयमै सही सूचना पाउने व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले आवश्यक विज्ञ र उपकरणको व्यवस्था गर्न आग्रह गरे।

यसैगरी, बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा नयाँ बस्ती, सरकारी कार्यालय वा अन्य संरचना निर्माण गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, सुरक्षा योजना र जनचेतनामूलक कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने उनले बताए।

Read More

ग्यास अभावको विरोधमा रास्वपा सांसद भण्डारीले समिति छाड्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट अलग हुने घोषणा गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै भण्डारीले सर्वसाधारणले खाना पकाउने ग्याससमेत सहज रूपमा नपाइरहेको अवस्थामा उपभोक्ता हितसम्बन्धी समितिमा बसेर काम गर्न आफूलाई नैतिक रूपमा उचित नलागेको बताए।

उनले ग्यास अभावका कारण नागरिकले ठूलो समस्या भोगिरहे पनि सरकार तथा सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए।

जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको समस्या समाधान गर्न नसक्ने अवस्थामा समितिमा रहनुको औचित्य नरहेको भन्दै भण्डारीले राजीनामा दिने निर्णय सुनाएका हुन्।

Read More

अदालतका फैसला कार्यान्वयन प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक

काठमाडौँ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा अदालतबाट भएका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको विषय उठेको छ।

बैठकमा कानुनमन्त्री सोविता गौतमले फैसला कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। सङ्घीय संरचनाअनुसार आवश्यक संस्थागत व्यवस्था गर्दै फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री गौतमका अनुसार फैसला कार्यान्वयनसम्बन्धी आवश्यक कानुनी सुधारका लागि अध्ययन भइरहेको छ। अदालतको फैसला मात्र पर्याप्त नहुने भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

बैठकमा अदालत तथा सरकारी निकायका डिजिटल प्रणालीलाई एकीकृत गरी फैसला र त्यसको कार्यान्वयनको अवस्था अनलाइनमार्फत निगरानी गर्न सकिने व्यवस्था बनाउनुपर्ने सुझाव पनि दिइयो।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले पनि विभिन्न अदालत र सम्बन्धित निकायका प्रणालीबीच समन्वय आवश्यक रहेको बताए।

समितिले फैसला कार्यान्वयन निर्देशनालयलाई थप प्रभावकारी र नतिजामुखी बनाउने विषयमा अध्ययन गर्न कानुन मन्त्रालयलाई निर्देशन दिएको छ।

Read More

राजीनामा: गौरी कुमारी यादव:उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिएकी छन्। उनले बिहीबार दिउँसो आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।

मन्त्रालयबाट बाहिरिने क्रममा यादवले आफूले जिम्मेवारी सम्हालेको अवधिमा अपेक्षाअनुसार काम गर्न नसकेको बताइन्। कर्मचारीबाट आवश्यक सहयोग नपाउँदा मन्त्रालयको काम प्रभावकारी रूपमा अघि बढाउन कठिन भएको उनको भनाइ थियो।

यादवले मन्त्रालयका कर्मचारीहरू उद्योगीहरूको प्रभावमा काम गर्ने गरेको आरोपसमेत लगाएकी थिइन्। बिहीबार नै उनले ग्यास उद्योगीहरूमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आशयको अभिव्यक्ति दिएपछि उनको भनाइ विवादमा परेको थियो।

यादवले चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

Read More

जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्छ : प्रचण्ड

काठमाडौँ । हिमाल तीव्र गतिमा पग्लिँदै जानु वातावरणीय समस्यामात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले जलवायु परिवर्तनको असरलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी रूपमा उठाउनुपर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका दाहालले बुधबार बिहान रासससँग कुरा गर्दै जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्रै सीमित नरहेको बताए। यसको प्रभाव मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता तथा समग्र अर्थतन्त्रमा क्रमशः देखिन थालेको उनको भनाइ छ।

उनले हिमाल पग्लिने क्रम तीव्र बन्दै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायको तत्काल गम्भीर ध्यानाकर्षण गराउनुपर्ने बताए।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाएँ”, दाहालले भने, “यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ।”

दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरले भविष्यमा पानीका स्रोत, कृषि उत्पादन, जैविक विविधता र जनजीवनमा थप चुनौती सिर्जना गर्न सक्ने बताए। त्यसैले नेपालले आफ्नो भौगोलिक अवस्थाका कारण भोगिरहेको जलवायु संकटलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्यसहित प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

यसै क्रममा उनले भोटेकोशी नदीमा आएको बाढीका बेला सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सरकारले अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको पर्याप्त सहयोग लिन नसकेको बताए।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको तत्काल प्रयोग गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको दाहालको भनाइ थियो। तर सरकारले त्यसअनुसार खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु कमजोरी भएको उनले बताए।

Read More