काठमाडौँ । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै एक महिलाले बच्चा जन्माएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।
प्रसूति गराउन अस्पताल पुगेकी महिलालाई समयमै उपचार तथा प्रसूति सेवा उपलब्ध हुन नसक्दा अस्पतालको प्रवेशद्वारमै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको थियो। घटनापछि अस्पताल प्रशासनको सेवा प्रवाहमाथि प्रश्न उठेको छ।
बिहीबार जारी विज्ञप्तिमार्फत अस्पतालले घटनाको वास्तविकता पत्ता लगाउन आन्तरिक छानबिन समिति गठन गर्ने जनाएको छ। छानबिनबाट कर्मचारी वा सम्बन्धित पक्षको लापरबाही पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले स्पष्ट पारेको छ।
अस्पतालले घटना संवेदनशील भएकाले निष्पक्ष रूपमा छानबिन गरी आवश्यक सुधारका कदम चालिने प्रतिबद्धता जनाएको छ।
यस घटनाले बिहीबार प्रतिनिधिसभामा समेत प्रवेश पाएको छ। सांसदहरूले संसद् बैठकमा अस्पतालको सेवा र घटनाबारे प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।




