२०८३ कार्तिक १६

रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

काठमाडौँ । चीनसँगको उत्तरी व्यापारका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि मुस्ताङको कोरला नाकामा आयातको चाप बढेको छ। रसुवागढी नाकामा रोकिएका मालवाहक कन्टेनरसमेत कोरला हुँदै नेपाल भित्रिन थालेपछि पछिल्लो समय नाकाको व्यापारिक गतिविधि तीव्र बनेको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाकामा रोकिएका १७६ वटा कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरिएको छ। केही कन्टेनर कोरला पुगिसकेका छन् भने बाँकी पनि क्रमशः आइरहेका छन्। अहिले भन्सार कार्यालयको सडक आसपास २०० भन्दा बढी कन्टेनर छन् भने भन्सार ¥याडमा मालवस्तुसहित करिब १५० भन्दा बढी कन्टेनर रोकिएका छन्।

दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल र खाद्य सामग्री बोकेका कन्टेनरसमेत कोरला नाकातर्फ डाइभर्ट भएका छन्। भन्सार प्रमुख चुडालका अनुसार अहिले दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने गरेका छन्।

कोरला नाकाको पछिल्लो सक्रियता भने आकस्मिक रूपमा सुरु भएको होइन। कोभिड महामारीका कारण चार वर्ष बन्द रहेको यो नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो। त्यसपछि तल्लो मुस्ताङका नागरिकलाई समेत सीमापार पास वितरण गरी नेचुङ–लिजी आवतजावत सहज बनाइएको थियो।

कोभिडअघि कोरला नाका असार र भदौमा सीमित समयका लागि मात्र खुल्ने गरेको थियो। चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा चिनियाँ पक्षले सीमावर्ती नेपाली नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिद गर्न अल्पकालीन अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्ने गरेको थियो। तर कोभिडपछि चीनले एकपक्षीय रूपमा नाका बन्द गरेपछि चार वर्षसम्म व्यापार र आवतजावत ठप्प भएको थियो।

२०८० कात्तिक २७ गते नाका पुनः खुलाउँदा चिनियाँ पक्षले नेपाली पक्षलाई सहभागी गराएर आतसबाजीसहित औपचारिक कार्यक्रम गरेको थियो। सुरुमा नाका उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला गरिएको थियो। पछि तल्लो मुस्ताङका नागरिकलाई पनि सीमापार पास दिइएपछि आवतजावत विस्तार भएको हो।

बाह्रै महिना खुला भए पनि सुरुआती चरणमा कोरला नाकाको कारोबार स्थानीयस्तरमै सीमित थियो। सीमावर्ती क्षेत्रका नागरिक र तल्लो मुस्ताङका केही बासिन्दाले घरायसी प्रयोजनका दैनिक उपभोग्य वस्तु चीनको कोरलास्थित लिजी हाटबजारबाट खरिद गरी ल्याउने गरेका थिए। चिनियाँ पक्षले नेपालीलाई सीमित मात्रामा मात्रै मालसामान आफ्नो भूमिबाट ल्याउन दिने गरेको थियो। त्यसबेला मुस्ताङ भन्सार कार्यालयको वार्षिक राजस्व संकलन करिब १० देखि १५ करोड रुपैयाँमा सीमित थियो।

गत वर्षको भदौ ३१ गतेदेखि कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि भने आयात–निर्यातको परिमाण बढ्न थालेको हो। उत्तरतर्फका तातोपानी र रसुवागढी नाका बाढी, पहिरो र नदी कटानका कारण बन्द भएपछि कोरलालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको थियो। नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि पूर्वाधार निर्माणतर्फ भने पर्याप्त ध्यान पुग्न नसकेको बताइएको छ।

पछिल्लो पटक यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाका पूर्ण रूपमा बन्द गरेपछि कोरला नाकामाथिको निर्भरता थप बढेको हो। तातोपानी नाका पनि सञ्चालनमा नरहेको अवस्थामा उत्तरतर्फका तीन नाकामध्ये अहिले व्यापारिक गतिविधिका लागि कोरला महत्वपूर्ण विकल्प बनेको छ।

कोरला नाकाको पछिल्लो अवस्थातथ्यांक
रसुवागढीबाट डाइभर्ट भएका कन्टेनर१७६
भन्सार सडक आसपास रहेका कन्टेनर२०० भन्दा बढी
भन्सार ¥याडमा रोकिएका कन्टेनर१५० भन्दा बढी
दैनिक चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने कन्टेनर५० भन्दा बढी

भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबापत ५२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ १० गतेपछि मात्रै थप २६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सार कार्यालयले ७८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको छ।

राजस्वसँगै सवारीसाधन र कन्टेनरको जाँचपास पनि तीव्र भएको छ। रसुवागढी नाका बन्द भएपछि नौ दिनको अवधिमा ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। त्यसअघि साउनदेखि भदौ १० गतेअघिसम्म १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको जाँचपास भएको थियो।

भन्सार गतिविधिभदौ १० अघिको ४० दिनभदौ १० पछिको अवधि
विद्युतीय सवारीसाधन जाँचपास१६३१३०
मालवाहक कन्टेनर जाँचपास१३३८८
दैनिक औसत EV जाँचपास४–५१५ भन्दा बढी
दैनिक औसत कन्टेनर जाँचपास३–४१० भन्दा बढी

भन्सार प्रमुख चुडालका अनुसार भदौ १० गतेअघिको ४० दिनमा दैनिक औसत १ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ १० गतेपछि भने दैनिक औसत राजस्व २ करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो ४० दिनमा १६३ वटा विद्युतीय सवारीसाधन जाँचपास भएकामा पछिल्लो १० दिनमा मात्रै १३० वटा जाँचपास भएका छन्। त्यस्तै, अघिल्लो ४० दिनमा १३३ कन्टेनर जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा जाँचपास भएका छन्।

राजस्वको अवस्थारकम
भदौ १० अघिको ४० दिनमा राजस्व५२ करोड ८० लाख रुपैयाँ
भदौ १० अघिको दैनिक औसत१ करोड ३० लाख रुपैयाँ
भदौ १० पछि थप राजस्व२६ करोड रुपैयाँभन्दा बढी
भदौ १० पछिको दैनिक औसत२ करोड ८८ लाख रुपैयाँभन्दा बढी
चालु आवको भदौ २० सम्म७८ करोड रुपैयाँभन्दा बढी

मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। उक्त वर्ष चीनबाट १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका मालवस्तु आयात भएका थिए भने २० करोड ५० लाख रुपैयाँभन्दा बढीका मालवस्तु चीनतर्फ निर्यात भएका थिए।

गत वर्ष कोरला नाका हुँदै ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन र १ हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो। चालु आवमा सामान्य अवस्था रहे ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला हुँदै आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको भन्सार प्रमुख चुडालले बताएका छन्।

गत आव २०८२/८३ को विवरणतथ्यांक
संकलित भन्सार राजस्व६ अर्ब ९२ करोड रुपैयाँ
चीनबाट आयात१४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी
चीनतर्फ निर्यात२० करोड ५० लाख रुपैयाँभन्दा बढी
जाँचपास भएका विद्युतीय सवारीसाधन३,२२३
जाँचपास भएका मालवाहक कन्टेनर१,८७३
चालु आवको राजस्व लक्ष्य९ अर्ब रुपैयाँभन्दा बढी

चीनबाट कोरला हुँदै आएका विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि कोरला नाकामै पार्किङ गरिएका छन्। पछिल्लो समय कोरला नाकादेखि न्हेचुङ भन्सार आसपासका क्षेत्र कन्टेनर र विद्युतीय सवारीसाधनले भरिन थालेका छन्।

यसअघि उपल्लो मुस्ताङका नागरिकको आवतजावत र घरायसी प्रयोजनका सामानको खरिद–बिक्रीमा सीमित रहेको कोरला नाका अहिले रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ। बढ्दो व्यापारिक चापसँगै नाकाको भन्सार ¥याड, पार्किङ तथा अन्य पूर्वाधारको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।

Read More

देवीघाटमा नेपाली सेनाले जडान गर्‍यो एक्रो ब्रिज, शुक्रबारदेखि सवारी सञ्चालन हुने

काठमाडौँ । गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि नुवाकोटको देवीघाट क्षेत्रमा यातायात आवागमन ठप्प भएको थियो। यातायात सञ्चालनलाई सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार नेपाली सेनाले पाँच दिनदेखि निरन्तर खटिएर बुधबार साँझ एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।

नयाँ पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ। सरकारले शुक्रबारदेखि उक्त पुलबाट सवारीसाधनसमेत सञ्चालन गरिने जनाएको छ।

Read More

सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाण्डु । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ५५ रुपैयाँले बढेको छ। बुधबार ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Read More

बाढीपीडितका लागि राहत सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमले एक महिना ढुवानी शुल्क नलिने

काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानीमा एक महिनाका लागि शतप्रतिशत शुल्क छुट दिने भएको छ।

निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा यो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

राहत सामग्री ढुवानीका लागि सम्बन्धित दूतावाससँग समन्वय गर्नुपर्नेछ। दूतावासको आधिकारिक पत्रका आधारमा अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल पठाइने सामग्रीमा निगमले कुनै ढुवानी शुल्क नलिने जनाएको छ।

विपद्को समयमा विदेशबाट प्राप्त हुने मानवीय सहयोगलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ। शुल्क छुटका कारण विभिन्न देश तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री छिटो र सहज रूपमा प्रभावित समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने निगमको अपेक्षा छ।

Read More

गृहमन्त्रीको पत्रकार लक्षित अभिव्यक्तिप्रति नागरिक अगुवाको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पत्रकार लक्षित अभिव्यक्तिलाई लिएर नागरिक अगुवा तथा अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। उनीहरूले अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

भदौ २३ गते गृहमन्त्री गुरुङबाट व्यक्त धारणा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने खालको भएको उनीहरूको निष्कर्ष छ। राज्यको शान्ति सुरक्षा र विपद् व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने व्यक्तिबाट आक्रामक शैलीमा प्रस्तुत हुनु पदको मर्यादा र संवेदनशीलतासँग मेल नखाने उनीहरूको भनाइ छ।

गृहमन्त्रीको नियुक्तिलाई लिएर उठेका प्रश्न र उनीमाथि लागेका आरोपको अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठिरहेका बेला पत्रकारमाथि लक्षित अभिव्यक्ति आउनु थप गम्भीर विषय भएको अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार राज्यका निकायलाई जवाफदेही बनाउने क्रममा पत्रकारिताले निर्वाह गर्ने भूमिकालाई धम्की वा दबाबबाट कमजोर पार्न खोज्नु उचित हुँदैन।

नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा सञ्चार क्षेत्रले कठिन परिस्थितिका बीच काम गर्दै आएको पनि उनीहरूले स्मरण गराएका छन्। पञ्चायतकालदेखि द्वन्द्व, दरबार हत्याकाण्ड तथा संविधान निर्माणको समयसम्म पत्रकारहरूले चुनौतीका बाबजुद सूचना प्रवाह र नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी पूरा गरेको उनीहरूको भनाइ छ।

पछिल्ला वर्षहरूमा सुन तस्करी, नक्कली शरणार्थी प्रकरण र सहकारीसम्बन्धी मुद्दालगायत विषयमा तथ्य बाहिर ल्याउन सञ्चारकर्मीले खेलेको भूमिकालाई समेत उनीहरूले उल्लेख गरेका छन्। पत्रकारलाई धम्क्याउने प्रवृत्तिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि असर पार्न सक्ने भन्दै उनीहरूले त्यसप्रति सजग रहन आग्रह गरेका छन्।

यद्यपि, नागरिक अगुवाहरूले पत्रकारहरूलाई पनि आचारसंहिताको सीमाभित्र रहेर तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित रूपमा समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्।

वक्तव्यमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, मानव अधिकारकर्मी शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महिला अधिकारकर्मी श्यामकुमारी साह, मानव अधिकारकर्मी सोम निरौला, सुबोध प्याकुरेल तथा युवा अभियन्ता अभिषेक अधिकारीले हस्ताक्षर गरेका छन्।

Read More

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहीबार बस्ने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम तथा संसद्मा पार्टीको आगामी भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुनेछ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै संसद्मा पार्टीले अपनाउने रणनीति र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। त्यसैगरी संसद्मा कांग्रेसका तर्फबाट प्रस्तुत गरिने विषय तथा एजेन्डामाथि पनि छलफल हुनेछ।

सरकारका पछिल्ला कामकारबाहीबारे समीक्षा गर्ने विषयसमेत बैठकको कार्यसूचीमा रहेको सचिवालयले जनाएको छ। बैठकबाट समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा र आगामी संसदीय गतिविधिबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

Read More

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयसँगै पछिल्लो समयका महत्वपूर्ण विषयमा छलफल हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विशेषगरी भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउने विषय बैठकको प्राथमिकतामा रहनेछ।

बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आवश्यक थप निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको सचिवालयले जनाएको छ।

बैठकबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, पुनर्स्थापनाका कामलाई गति दिने तथा विपद्पछिको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।

Read More

गुजरातमा निर्माणाधीन भवनको स्ल्याब खस्दा श्रमिक पुरिए, १५ जनाको उद्धार

काठमाडौं । भारतको गुजरातस्थित गान्धीनगरमा निर्माणाधीन भवनको फलामे स्ल्याब अचानक खस्दा कैयौँ श्रमिक भग्नावशेषमा पुरिएका छन्। कुडासन क्षेत्रमा बुधबार राति भएको दुर्घटनापछि उद्धार टोलीले हालसम्म १५ जना श्रमिकलाई सुरक्षित बाहिर निकालेको छ।

उद्धार गरिएकामध्ये १२ जनालाई गान्धीनगर सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। सामान्य चोटपटक लागेका तीन जनालाई भने प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

दुर्घटना राति करिब ९ बजे भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। दुई भवनको बीचमा फलामे संरचना तयार गर्ने क्रममा अचानक स्ल्याब खसेपछि निर्माणस्थलमा कार्यरत श्रमिकहरू त्यसको चपेटामा परेका थिए।

घटनाको जानकारी पाएलगत्तै दमकल, प्रहरी र स्थानीय प्रशासनको टोली घटनास्थलमा पुगेको थियो। उद्धार टोलीले भग्नावशेष हटाउँदै फसेका श्रमिकको खोजी गरिरहेको छ।

गुजरातका गृहराज्यमन्त्री हर्ष सङ्घवी पनि घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गरेका छन्। उनका अनुसार उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

भग्नावशेषभित्र अझै कति श्रमिक फसेका छन् भन्नेबारे यकिन हुन सकेको छैन। उद्धार टोलीले सम्भावित जीवित व्यक्तिको खोजीलाई केन्द्रमा राखेर रातिदेखि नै खोज तथा उद्धार कार्य जारी राखेको छ।

Read More

तीन वर्षीया बालिका हत्या प्रकरणमा दुई नाबालक बाल सुधार गृह पठाइए

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई जिल्ला अदालत बाराले बाल सुधार गृह पठाउने आदेश दिएको छ। साउन ३१ गतेदेखि बेपत्ता बालिका भदौ २ गते मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

बुधबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले अर्को आदेश नभएसम्म दुवै नाबालकलाई बाल सुधार गृहमा राख्न आदेश दिएको हो। अदालतले पीडित पक्षलाई तत्काल उपलब्ध हुने गरी दुई लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश गरेको छ।

प्रहरीले दुवै नाबालकमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनामा १२ जना पक्राउ परेका भए पनि बालबालिकासम्बन्धी कानुनअनुसार नाबालकलाई २१ दिनभित्र अदालतमा पेस गर्नुपर्ने भएकाले दुई जनालाई बुधबार अदालतमा उपस्थित गराइएको हो।

अदालतमा सरकारी पक्ष, पीडित परिवारका कानुन व्यवसायी तथा बार एकाइका तर्फबाट बहस भएको थियो। घटनाको प्रकृति गम्भीर रहेको र योजनाबद्ध रूपमा बालिकालाई अपहरण, बलात्कार तथा हत्या गरिएको दाबी गर्दै नाबालकलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको थियो।

अदालतले प्रहरीको अनुसन्धान प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षणसम्बन्धी विवरण र सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन गरेपछि बालबालिकासम्बन्धी ऐन, २०७५ तथा मुलुकी फौजदारी कार्यविधि संहिताका प्रावधानअनुसार बाल सुधार गृह पठाउने निर्णय गरेको हो।

मुद्दाको अन्तिम किनारा नलागेसम्म दुवै नाबालक बाल सुधार गृहमा रहनेछन्।

यस घटनामा पक्राउ परेका अन्य १० जनालाई पनि अदालतमा पेस गर्ने तयारी भइरहेको बारा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले पीडित पक्षको जाहेरीका आधारमा जीतपुरसिमरा–१ का प्रोग्रेस चौधरीसहित उनका परिवारका सदस्य तथा अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पीडित परिवारका अनुसार बालिका प्रोग्रेस चौधरीको घरमा खेल्न गएका बेला बेपत्ता भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते साँझ जीतपुरसिमरा–१ भक्तिनगरस्थित एउटा घरमा उनको शव फेला परेको थियो।

शव फेला परेलगत्तै प्रहरीले प्रोग्रेस चौधरी र १६ वर्षीय एक नाबालकलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको विवरण खुलेपछि थप व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच, कलैया प्रादेशिक अस्पतालको ओसीएमसीमा घटनासँग सम्बन्धित भिडियो खिचिएको र पछि उक्त भिडियो सार्वजनिक भएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। भिडियो लिक भएपछि प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ भने भिडियो खिच्ने क्रममा अस्पतालमा रहेका अन्य प्रहरी कर्मचारीको भूमिकाबारे समेत विभागीय कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

घटनापछि बालिकाका परिवार तथा स्थानीयले दोषीलाई कारबाही र न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। भदौ ३ गतेदेखि पथलैया–वीरगञ्ज सडकखण्डमा समेत प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरिएको थियो। आन्दोलन चर्किएपछि भदौ ६ गते गृह मन्त्रालयमा पीडित परिवारसँग वार्ता भएको थियो। वार्तामा सहमति भएपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।

Read More

कृष्णभीरमा पहिरोपछि विभिन्न जिल्लाबाट ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण ग्यास बोकेका बुलेट काठमाडौं जान नसकेपछि देशका विभिन्न जिल्लामा रहेका उद्योगबाट एलपी ग्यासका सिलिन्डर भरेर उपत्यका पठाउन थालिएको छ।

ग्यासको आपूर्ति सहज बनाउन बुधबार विभिन्न उद्योगबाट ५३ हजार ४६९ वटा भरिएका सिलिन्डर काठमाडौं पठाइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। काठमाडौंमा ग्यास अभाव हुन नदिन वैकल्पिक व्यवस्थाअन्तर्गत विभिन्न जिल्लाका उद्योगबाट सिलिन्डर भरेर पठाइएको हो।

चितवनस्थित नेपाल ग्यास उद्योग, नारायणीबाट मात्रै विभिन्न ब्रान्डका ४ हजार ५४३ सिलिन्डर पठाइएको छ। त्यसमध्ये एचपीका १ हजार २१३, नेपाल ग्यासका १ हजार ६७८, गीताका १४० र सागरका १ हजार ५१२ सिलिन्डर रहेका छन्।

धनुषाको नोबेल ग्यास उद्योगबाट सागर ब्रान्डका ५ हजार ६१८ सिलिन्डर काठमाडौं पठाइएको छ।

त्यस्तै, बाराका विभिन्न उद्योगबाट पनि ठूलो संख्यामा सिलिन्डर उपत्यका पठाइएको छ। ग्यास वन (एनएल) उद्योगबाट सीताश्रीका १ हजार ६०९, जगदम्बा ग्यासबाट मेट्रो एसटिसी र सूर्यका २ हजार १२१, लियो ग्यासबाट उग्रचण्डी र श्रीमायाका ३ हजार १८१ तथा अम्बर ग्यासबाट सिद्धार्थ र मेट्रो एसटिसीका १ हजार ९२ सिलिन्डर पठाइएको संघका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिएका छन्।

पर्साबाट सुपर ग्यास उद्योगले हिमाल कम्पनीका ६६३ र मनोज ग्यास उद्योगले उग्रचण्डी तथा मेट्रो एसटिसीका १ हजार ३७ सिलिन्डर पठाएको छ। मकवानपुरको सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगमका ७ हजार ८७७ सिलिन्डर काठमाडौं पठाइएको छ।

चितवनका उद्योगबाट पनि उल्लेख्य परिमाणमा ग्यास पठाइएको छ। नेपाल ग्यास उद्योग गण्डकीले एपी, नेपाल र गीताका ७ हजार ३४८ सिलिन्डर, साइबाबा ग्यास उद्योगले श्रीकृष्ण र साइबाबाका ५ हजार ३३७ सिलिन्डर तथा बाबा ग्यास उद्योगले श्री ग्यासका ८ हजार ७१६ सिलिन्डर उपत्यका पठाएको जनाएको छ।

यसैगरी, नवलपुरस्थित जानकी ग्यास उद्योगबाट श्रीराम र ओमका २ हजार ६४२ सिलिन्डर तथा नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगबाट सागरका १ हजार ६८५ सिलिन्डर काठमाडौं पठाइएको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि ग्यासका बुलेट काठमाडौं ल्याउन समस्या भएको हो। त्यसका कारण उपत्यकामा सम्भावित अभाव टार्न उद्योगहरूले सिलिन्डरमै ग्यास भरेर वैकल्पिक रूपमा आपूर्ति गर्न थालेका हुन्।

Read More