२०८३ भाद्र २८

गुजरातमा निर्माणाधीन भवनको स्ल्याब खस्दा श्रमिक पुरिए, १५ जनाको उद्धार

काठमाडौं । भारतको गुजरातस्थित गान्धीनगरमा निर्माणाधीन भवनको फलामे स्ल्याब अचानक खस्दा कैयौँ श्रमिक भग्नावशेषमा पुरिएका छन्। कुडासन क्षेत्रमा बुधबार राति भएको दुर्घटनापछि उद्धार टोलीले हालसम्म १५ जना श्रमिकलाई सुरक्षित बाहिर निकालेको छ।

उद्धार गरिएकामध्ये १२ जनालाई गान्धीनगर सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। सामान्य चोटपटक लागेका तीन जनालाई भने प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

दुर्घटना राति करिब ९ बजे भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। दुई भवनको बीचमा फलामे संरचना तयार गर्ने क्रममा अचानक स्ल्याब खसेपछि निर्माणस्थलमा कार्यरत श्रमिकहरू त्यसको चपेटामा परेका थिए।

घटनाको जानकारी पाएलगत्तै दमकल, प्रहरी र स्थानीय प्रशासनको टोली घटनास्थलमा पुगेको थियो। उद्धार टोलीले भग्नावशेष हटाउँदै फसेका श्रमिकको खोजी गरिरहेको छ।

गुजरातका गृहराज्यमन्त्री हर्ष सङ्घवी पनि घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गरेका छन्। उनका अनुसार उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

भग्नावशेषभित्र अझै कति श्रमिक फसेका छन् भन्नेबारे यकिन हुन सकेको छैन। उद्धार टोलीले सम्भावित जीवित व्यक्तिको खोजीलाई केन्द्रमा राखेर रातिदेखि नै खोज तथा उद्धार कार्य जारी राखेको छ।