काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयसँगै पछिल्लो समयका महत्वपूर्ण विषयमा छलफल हुने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विशेषगरी भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउने विषय बैठकको प्राथमिकतामा रहनेछ।
बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आवश्यक थप निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको सचिवालयले जनाएको छ।
बैठकबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, पुनर्स्थापनाका कामलाई गति दिने तथा विपद्पछिको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।




