२०८३ भाद्र २८

तीन वर्षीया बालिका हत्या प्रकरणमा दुई नाबालक बाल सुधार गृह पठाइए

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई जिल्ला अदालत बाराले बाल सुधार गृह पठाउने आदेश दिएको छ। साउन ३१ गतेदेखि बेपत्ता बालिका भदौ २ गते मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

बुधबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले अर्को आदेश नभएसम्म दुवै नाबालकलाई बाल सुधार गृहमा राख्न आदेश दिएको हो। अदालतले पीडित पक्षलाई तत्काल उपलब्ध हुने गरी दुई लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश गरेको छ।

प्रहरीले दुवै नाबालकमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनामा १२ जना पक्राउ परेका भए पनि बालबालिकासम्बन्धी कानुनअनुसार नाबालकलाई २१ दिनभित्र अदालतमा पेस गर्नुपर्ने भएकाले दुई जनालाई बुधबार अदालतमा उपस्थित गराइएको हो।

अदालतमा सरकारी पक्ष, पीडित परिवारका कानुन व्यवसायी तथा बार एकाइका तर्फबाट बहस भएको थियो। घटनाको प्रकृति गम्भीर रहेको र योजनाबद्ध रूपमा बालिकालाई अपहरण, बलात्कार तथा हत्या गरिएको दाबी गर्दै नाबालकलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको थियो।

अदालतले प्रहरीको अनुसन्धान प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षणसम्बन्धी विवरण र सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन गरेपछि बालबालिकासम्बन्धी ऐन, २०७५ तथा मुलुकी फौजदारी कार्यविधि संहिताका प्रावधानअनुसार बाल सुधार गृह पठाउने निर्णय गरेको हो।

मुद्दाको अन्तिम किनारा नलागेसम्म दुवै नाबालक बाल सुधार गृहमा रहनेछन्।

यस घटनामा पक्राउ परेका अन्य १० जनालाई पनि अदालतमा पेस गर्ने तयारी भइरहेको बारा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले पीडित पक्षको जाहेरीका आधारमा जीतपुरसिमरा–१ का प्रोग्रेस चौधरीसहित उनका परिवारका सदस्य तथा अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पीडित परिवारका अनुसार बालिका प्रोग्रेस चौधरीको घरमा खेल्न गएका बेला बेपत्ता भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते साँझ जीतपुरसिमरा–१ भक्तिनगरस्थित एउटा घरमा उनको शव फेला परेको थियो।

शव फेला परेलगत्तै प्रहरीले प्रोग्रेस चौधरी र १६ वर्षीय एक नाबालकलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको विवरण खुलेपछि थप व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच, कलैया प्रादेशिक अस्पतालको ओसीएमसीमा घटनासँग सम्बन्धित भिडियो खिचिएको र पछि उक्त भिडियो सार्वजनिक भएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। भिडियो लिक भएपछि प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ भने भिडियो खिच्ने क्रममा अस्पतालमा रहेका अन्य प्रहरी कर्मचारीको भूमिकाबारे समेत विभागीय कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

घटनापछि बालिकाका परिवार तथा स्थानीयले दोषीलाई कारबाही र न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। भदौ ३ गतेदेखि पथलैया–वीरगञ्ज सडकखण्डमा समेत प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरिएको थियो। आन्दोलन चर्किएपछि भदौ ६ गते गृह मन्त्रालयमा पीडित परिवारसँग वार्ता भएको थियो। वार्तामा सहमति भएपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।