२०८३ भाद्र २८

भोटेकोशी बाढीपीडितका लागि इनड्राइभले ७ करोड ५० लाख सहयोग गर्‍यो

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। इनड्राइभ नेपालका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।

सरकारी राहत प्रयासमा आर्थिक सहयोग गर्नुका साथै कम्पनीले बाढी प्रभावित समुदायमा प्रत्यक्ष राहत सामग्रीसमेत वितरण गरेको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–९ का प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको हो।

बाढी प्रभावित परिवारको तत्काल आवश्यकता ध्यानमा राखेर खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्याङ्केट र स्यानिटरी प्याडलगायत सामग्री वितरण गरिएको छ।

विपद्पछि दैनिक जीवन सञ्चालनमा समस्या भोगिरहेका परिवारलाई आधारभूत सामग्री उपलब्ध गराई तत्काल राहत पुर्‍याउनु सहयोगको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।