२०८३ भाद्र २८

कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

काठमाडौं । भाद्र कृष्ण औंसीका अवसरमा आज देशभर कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व परम्परागत विधि र श्रद्धापूर्वक मनाइँदै छ। यस अवसरमा सनातन हिन्दू धर्मावलम्बीहरूले धार्मिक कार्यमा प्रयोग हुने पवित्र कुश घरमा भित्र्याउनेदेखि पितृको स्मरणमा श्राद्ध तथा तर्पण गर्ने कार्य गरिरहेका छन्।

धार्मिक मान्यताअनुसार देवकार्य र पितृकार्यमा प्रयोग गरिने कुश वर्षमा एकपटक विशेष विधिबाट संकलन गरिन्छ। ब्राह्मणद्वारा पूजा तथा शास्त्रोक्त विधिपूर्वक छेदन गरिएको कुश घरमा राख्दा सुख, शान्ति र पारिवारिक कल्याण हुने विश्वास रहँदै आएको छ। परम्पराअनुसार शुभ साइतमा ब्राह्मणको घरबारी वा पाखामा उम्रिएको कुश काटेर घरमा ल्याउने चलन छ।

नेपालमा माता, पिता र गुरुलाई उच्च सम्मान दिने सांस्कृतिक परम्परा छ। त्यसैअनुसार बाबुको मुख हेर्ने दिन जीवित पितालाई सम्मान गर्दै छोराछोरीले उहाँलाई मनपर्ने परिकार खुवाउने, नयाँ वा मनपर्ने कपडा तथा अन्य उपहार प्रदान गर्ने गर्छन्।

दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण, सिदादान तथा पिण्डदान गर्न काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसर र बागमती नदी किनारमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

धार्मिक विश्वासअनुसार गोकर्णमा पितृको नाममा गरिने तर्पण तथा पिण्डदानबाट दिवंगत आत्माले शान्ति प्राप्त गर्ने र पितृहरूको उद्धार हुने मान्यता छ। कतिपय धार्मिक परम्परामा यस्तो कर्मबाट २१ कुलसम्मका पितृ तर्ने विश्वाससमेत पाइन्छ।

भाद्र कृष्ण औंसीका दिन गोकर्णेश्वरमा विशेष धार्मिक मेला लाग्ने भएकाले यस पर्वलाई गोकर्णे औंसी’ नामले पनि चिनिन्छ। यस दिन गोकर्ण क्षेत्रमा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहने गर्छ।