काठमाडौं । नेपाल पर्यटन बोर्डले रिक्त रहेको कार्यकारी प्रमुख (सीईओ) पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ। बोर्डले शुक्रबार सूचना जारी गर्दै १० दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ। तोकिएको म्यादको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आवेदक नेपाली नागरिक हुनुका साथै प्रचलित कानुनअनुसार नियुक्तिका लागि अयोग्य नभएको र आवश्यक अनुभव पूरा गरेको हुनुपर्नेछ।
उम्मेदवारले बोर्डको प्रभावकारिता बढाउने उद्देश्यसहित बढीमा ३ हजार शब्दको रणनीतिक कार्ययोजना पेस गर्नुपर्नेछ। त्यस्तै, विगतको कार्यअनुभवमा हासिल गरेका उपलब्धि समेटिएको १ हजार शब्दसम्मको प्रतिवेदन पनि बुझाउनुपर्नेछ।
यसका अतिरिक्त तोकिएको ढाँचामा स्वघोषणा पत्र तथा आवश्यक पर्ने उम्मेदवारले विभागीय स्वीकृति पत्रसमेत पेस गर्नुपर्नेछ।
आवेदनका लागि रु १५ हजार दस्तुर तोकिएको छ। उक्त रकम नबिल बैंकको तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी भौचर आवेदनसँगै बुझाउनुपर्नेछ।
आवेदन बोर्डको सचिवालय, भृकुटीमण्डपमा प्रत्यक्ष बुझाउन सकिनेछ। इमेलमार्फत आवेदन पठाउने सुविधा पनि बोर्डले उपलब्ध गराएको छ।
इमेलबाट आवेदन दिने उम्मेदवारले छनोट प्रक्रियाका सम्बन्धित चरणमा सक्कल कागजात र दस्तुर बुझाएको भौचर पेस गर्नुपर्नेछ। आवेदन तथा नियुक्तिसम्बन्धी थप जानकारी बोर्डको आधिकारिक सूचनामा उपलब्ध रहेको छ।




