२०८३ भाद्र २८

बाढीपछि रसुवामा हैजाविरुद्ध खोप अभियान सुरु

काठमाडौं। बाढीपछि जलजन्य रोगको जोखिम बढ्न सक्ने भन्दै रसुवामा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका चार गाउँपालिकामा आजदेखि एक सातासम्म सञ्चालन हुने अभियानमा एक वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई खोप दिइने भएको छ।

नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका अन्य चार गाउँपालिकामा अभियान सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले जानकारी दिए। स्वास्थ्यकर्मी, स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाको समन्वयमा विभिन्न केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको छ।

हाल ज्वरो आएका वा पखाला लागिरहेका व्यक्तिलाई भने तत्काल खोप नदिइने स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्ता व्यक्तिले स्वास्थ्यमा सुधार आएपछि मात्र खोप लगाउन सक्नेछन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य सेवामा प्रत्यक्ष रूपमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीलाई हैजाविरुद्धको खोपसँगै टिटानस र डिप्थेरियाविरुद्धको खोपसमेत लगाउने व्यवस्था गरिएको छ।

बाढीका कारण खानेपानी दूषित हुन सक्ने र सरसफाइको अवस्था प्रभावित हुने भएकाले हैजा तथा अन्य जलजन्य रोग फैलिने जोखिमलाई ध्यानमा राखेर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य प्रशासनले जनाएको छ।

अभियानमा सहभागी भएर तोकिएका खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालयले जिल्लावासीलाई आग्रह गरेको छ।