२०८३ आश्विन २

अर्थमन्त्री वाग्लेको भारत भ्रमण : आज उच्चस्तरीय भेटवार्ता र छलफल

काठमाडौं : भारतको तीनदिने भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको शुक्रबार विभिन्न उच्चस्तरीय भेटवार्ता तथा छलफलमा व्यस्त रहने कार्यतालिका रहेको छ। बिहीबार भारत पुगेका वाग्लेले भ्रमणको पहिलो दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय वार्ता गरेका थिए।

भ्रमणको दोस्रो दिन बिहान ९ बजे नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। पूर्वभारतीय विदेशसचिव श्याम शरणको आयोजनामा हुने उक्त कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा उपस्थित भएर आफ्ना धारणा राख्नेछन्।

उनले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। दुई पक्षबीचको भेटवार्ता शुक्रबार साँझ ५ बजेका लागि तय गरिएको छ।

अर्थमन्त्री वाग्लेले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने अर्को उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। भारत मण्डपममा हुने उक्त कार्यक्रममा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीसहित नेपाली प्रतिनिधिमण्डल सहभागी छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत पनि टोलीमा छन्।

भ्रमणको अन्तिम दिन शनिबार अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्। त्यसपछि उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्किने कार्यक्रम रहेको छ।