काठमाडौँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा दर्ता भएका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका हुन्।
कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार तनहुँमा घरेलु तथा साना उद्योगको संख्या सबैभन्दा धेरै छ। हाल जिल्लामा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा रहेका छन्।
नयाँ उद्योग स्थापना हुने क्रमसँगै जिल्लामा सञ्चालित केही उद्योग तथा व्यवसाय बन्द हुने क्रम पनि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा उद्योगतर्फ २५० र वाणिज्यतर्फ २३४ गरी कुल ४८४ फर्म तथा उद्योग खारेज भएका छन्।
एकीकृत सेवा कार्यालयका अनुसार नयाँ उद्योग दर्ता र पुराना उद्योग खारेजी दुवै जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधिको नियमित प्रक्रियाका रूपमा देखिएका छन्। नयाँ उद्यमी थपिँदै गए पनि विभिन्न कारणले केही उद्योग तथा व्यवसाय सञ्चालनबाट बाहिरिने गरेका छन्।
कार्यालयबाट उद्योग दर्ता, नवीकरण, नामसारी तथा खारेजीलगायतका सेवा प्रदान हुँदै आएको सहायक प्रशासकीय अधिकृत थापाले बताए। पछिल्लो तथ्याङ्कले तनहुँको औद्योगिक गतिविधिमा साना तथा घरेलु उद्यमको हिस्सा उल्लेख्य रहेको देखाएको छ।
गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिनुले जिल्लामा ठूलो लगानीका उद्योगभन्दा तुलनात्मक रूपमा सानो पुँजीमा सञ्चालन गर्न सकिने उद्यमप्रति आकर्षण रहेको देखिन्छ। यस्ता उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै वस्तु तथा सेवा उत्पादनमा समेत योगदान पुर्याउँदै आएको थापाको भनाइ छ।




