काठमाडौँ । अत्यधिक वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
मौसम विज्ञान विभागले भारी वर्षाका कारण सम्भावित जोखिमबारे सचेत गराएपछि महानगरपालिकाले पूर्वसावधानीस्वरूप स्थानीय बिदा घोषणा गरेको हो। महानगरका मेयर धनराज आचार्यका अनुसार आज ८ गते र भोलि ९ गते महानगरअन्तर्गत सञ्चालित सबै विद्यालय बन्द रहनेछन्।
महानगरपालिकाका अनुसार दुई दिनको स्थानीय बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
मेयर आचार्यले मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकाले विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।
यसअघि शिक्षा मन्त्रालयले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज र भोलि विद्यालय बन्द गर्न आग्रह गरेको थियो। मन्त्रालयको आग्रहसमेतलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा अन्य जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गर्दै महानगरले नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाएको छ।




