काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारीका लागि विभिन्न जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइराला नेतृत्वको महाधिवेशन तयारी समितिले प्रदेशगत रूपमा ५५ जिल्लाको जिम्मेवारी बाँडफाँट गरेको हो।
प्रदेशअनुसार संयोजक तोकिएका जिल्ला
| प्रदेश | जिल्ला संख्या |
|---|---|
| कोशी | ८ |
| बागमती | ११ |
| गण्डकी | ८ |
| लुम्बिनी | १२ |
| कर्णाली | ८ |
| सुदूरपश्चिम | ८ |
| मधेश | ० |
| जम्मा | ५५ |
कोशीमा पाँचथर, झापा, संखुवासभा, भोजपुर, मोरङ, खोटाङ, ओखलढुंगा र उदयपुरमा संयोजक तोकिएका छन्। बागमतीका ११ जिल्लामा पनि जिम्मेवारी बाँडिएको छ।
गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका आठ र सुदूरपश्चिमका आठ जिल्लामा संयोजक चयन गरिएको समूहले जनाएको छ। मधेश प्रदेशमा भने अहिलेसम्म कुनै जिल्लामा संयोजक तोकिएको छैन।
कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ। बागमतीका सिन्धुली र काभ्रेपलाञ्चोक तथा कर्णालीका रुकुम पश्चिम र सल्यानमा पनि जिम्मेवारी तोकिएको छैन। सुदूरपश्चिममा अछाम बाँकी रहेको छ।
तयारी समितिले १५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। प्रस्तावित कार्यतालिकाअनुसार २१ देखि २३ मंसिरसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।
