काठमाडौँ । निर्माण सुरु भएको करिब १५ वर्षपछि म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनमा पुगेको छ। आयोजनाका दुवै २० मेगावाटका युनिट परीक्षण गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोड्न थालिएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडले जनाएको छ।
प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार दुवै युनिट पूर्ण क्षमतामा परीक्षण गरिएको छ। सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ।
आयोजना निर्माणमा लामो समय लाग्नुका कारणमा ठेकेदार परिवर्तन, ठेक्का रद्द, आयोजना पुनःसंरचना, कोरोना महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभाव प्रमुख छन्। सुरुमा ३२ मेगावाट क्षमतामा अघि बढाइएको आयोजनालाई पछि ४० मेगावाटमा विस्तार गरिएको थियो।
आयोजनाको बाँध रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झीँको फेदी क्षेत्रमा तथा विद्युत्गृह वडा नं. ३ तिल्केनीचौरमा रहेको छ। आयोजनामा ६.२७ किलोमिटर लामो मुख्य सुरुङ र करिब ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ। उत्पादित विद्युत् २२० केभी दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ।
राहुघाटले वार्षिक करिब २४ करोड पाँच लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाका लागि २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता गरिएको थियो।
राहुघाटको निर्माण यात्रा भने सहज थिएन। प्राधिकरणले सुरुमा भारतीय कम्पनी आइभिआरसीएलसँग २०६७ मा ठेक्का सम्झौता गरेको थियो। काम अपेक्षित रूपमा अघि नबढेपछि २०७२ मा ठेक्का रद्द गरिएको थियो। त्यसबेला आयोजनाको भौतिक प्रगति करिब १२ प्रतिशत मात्रै थियो।
पछि नेपाल विद्युत् प्राधिकरणले रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी नयाँ संरचनाबाट आयोजना अघि बढाएको हो। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको आधारका रूपमा लिइएको बताए। उनका अनुसार राहुघाट अघि बढेपछि जिल्लामा अन्य जलविद्युत् आयोजनाहरू पनि विकास भएका छन्।




