२०८३ आश्विन ८

१३ राजदूतको नाममाथि संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै

काठमाडौँ । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको छ। संसदीय सुनुवाइ समिति (संयुक्त)ले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक उजुरी माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सरकारी सञ्चारमाध्यम र संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले बताए। उजुरी दिन १० दिनको समय तोकिएको छ।

समितिले असोज २० गते बिहान सवा ११ बजे अर्को बैठक राखेर प्राप्त उजुरी खोल्ने तयारी गरेको छ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालाई राजदूतमा सिफारिस गरेको छ।

यस्तै, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी र ओमानका लागि डा. पद्माक्षी राणाको नाम प्रस्ताव गरिएको छ।

मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरबका लागि गिरीबहादुर सुनारलाई पनि राजदूतका लागि सिफारिस गरिएको छ।

संसदीय सुनुवाइबाट प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाइनेछ। सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।