२०८३ आश्विन ८

भारी वर्षाको सम्भावनापछि कुलेखानी क्षेत्रमा सतर्कता

काठमाडौं । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मकवानपुर प्रशासनले कुलेखानी जलाशय आसपास र तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय निरीक्षण गर्दै सम्भावित जोखिमबारे छलफल गरेको हो।

निरीक्षणका क्रममा जलाशयको अवस्था र बाँध सञ्चालनबारे केन्द्रका प्रमुख प्रल्हाद राउत तथा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीसँग जानकारी लिइएको थियो। भारी वर्षाका कारण बाँधको ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा क्षति हुन नदिने गरी पूर्वतयारी गर्न प्रजिअ अधिकारीले निर्देशन दिएका छन्।

केन्द्रका प्रमुख राउतका अनुसार बुधबारसम्म जलाशयको जलसतह १ हजार ५२२ दशमलव ३८ मिटर रहेको छ। जलसतहअनुसार चार तहको चेतावनी प्रणाली र साइरनको व्यवस्था गरिएको छ। आवश्यक परे बाँध आसपास तथा तल्लो तटीय क्षेत्रमा थप सूचना बोर्ड राख्ने तयारीसमेत भइरहेको उनले बताए।

इन्द्रसरोवर गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गर्ने जनाएको छ। स्थानीय सञ्चारमाध्यममार्फत जोखिम क्षेत्रका नागरिकलाई समयमै सूचना पुर्‍याउनसमेत आग्रह गरिएको छ।