काठमाडौँ । चितवनका स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा माडी नगरपालिका पहिलो भएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदान गरिएको स्वास्थ्य सेवाका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा माडीले सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।
जनस्वास्थ्य कार्यालय चितवनले भरतपुरमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा स्थानीय तहका स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा गरेका काम तथा स्वास्थ्य सेवासम्बन्धी सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो।
मूल्याङ्कनमा माडी नगरपालिकाले ८६ दशमलव १० अङ्क प्राप्त गरेको छ। ८५ दशमलव ४३ अङ्कसहित भरतपुर महानगरपालिका दोस्रो हुँदा खैरहनी नगरपालिका ८२ अङ्कसहित तेस्रो भएको जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिए।
उनका अनुसार स्थानीय तहले गत आर्थिक वर्षमा सम्पादन गरेका स्वास्थ्य सेवासम्बन्धी गतिविधि तथा समीक्षा गोष्ठीमा प्रस्तुत गरेका विवरणलाई मूल्याङ्कनको आधार बनाइएको हो।
प्रमुख घिमिरेले जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखाको कार्यसम्पादन राम्रो रहेको बताए। उनका अनुसार विभिन्न स्वास्थ्य सूचकमा प्राप्त अङ्कमा देखिएको सामान्य अन्तरका आधारमा मात्रै पहिलो, दोस्रो र तेस्रो स्थान निर्धारण गरिएको हो।
समीक्षा गोष्ठीका अवसरमा उत्कृष्ट तीन स्वास्थ्य शाखालाई बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, तालिम केन्द्रका प्रमुख दीपक तिवारी र मन्त्रालयका जनस्वास्थ्य प्रशासक दुर्गादत्त चापागाईंलगायतको सहभागिता थियो।




