२०८३ आश्विन ११

पाल्पामा पहिरोमा परी दुईजनाको मृत्यु, तीनजना बेपत्ता

काठमाडौं  । लगातारको वर्षापछि गएको पहिरोमा परी पाल्पामा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

माथागढी गाउँपालिका–३ कसेनीमा आइतबार बिहान पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा लिलबहादुरसहित झरना घर्ती र दिना घर्ती बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पाल्पाका विभिन्न क्षेत्रमा बाढी र पहिरोले सडक अवरुद्ध हुनुका साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित भएका छन् । माडीफाँटलगायतका क्षेत्रमा बाढी पस्दा धानबालीमा क्षति पुगेको छ भने रानीमहल क्षेत्रका होटल तथा रेस्टुरेन्टमा समेत पानी पसेको छ ।

जिल्लाका झडेवा, हार्थोक–छहरा, बासटारी–झडेवा र आर्यभञ्ज्याङ–रामपुरलगायत क्षेत्रमा पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।